- डा.रोहित प्रसाद यादव

बिरामीको पेटमा सानो प्वाल बनाएर दुरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । आधुनिक पद्धतिको रुपमा रहेको ल्याप्रोस्कोपीक सर्जरी बिरामीका लागि वरदान सावित भएको छ । यो पद्धति बिरामीलाई अधिक आराम र सुविधा दिने उपयुक्त माध्यम बन्न पुगेको छ ।

डा.रोहित प्रसाद यादव, बरिष्ठ ल्याप्रोस्कोपिक तथा जेनेरल सर्जन, नोबेल शिक्षण अस्पताल

नोबेल अस्पतालका बरिष्ठ ल्याप्रोस्कोपिक तथा जेनेरल सर्जन डा.रोहित प्रसाद यादव यो सर्जरीका क्षेत्रमा अव्वल मानिन्छन् । नोबेलमा डा. यादवले सबैभन्दा बढी पितको थैली, पित्तको नली, एपेन्डिक्स, आन्द्राको क्यान्सर र हर्निया लगायत समस्याका विरामीको ल्याप्रोस्कोपी बिधि मार्फत शल्यक्रिया गर्दै आएका छन् । हर्नियाको ल्याप्रोस्कोपिक बिधिबाट पहिलो पटक धरानमा सन् २००९ मा त्यहि कार्यरत स्वास्थ्यकर्मीको सफलतापूर्वका शल्यक्रिया गरेपछि डा.यादवले यसलाई निरन्तरता दिदै आएका छन् ।

Advertisement

ईआरसीपी बिधिमार्फत पित्त नलीको ढुंगा निकाल्ने काममा पनि डा.यादव दख्खल राख्छन् । मुखबाट इण्डोस्कोप छिराएर एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकालेर डा.यादव नेतृत्वको टिमले नेपालमै नयाँ रेकर्ड पनि कायम गरेको छ । यीनै विषयमा केन्द्रीत रहेर डा. यादवसँग गरिएको कुराकानी :-

केहिलेदेखि ल्याप्रोस्कोपी सर्जरी गर्दै आउनुभएको छ ?

– मैले १४ बर्ष अघिदेखि ल्याप्रोस्कोपिक सर्जरी गर्दै आएको छु । मैले हालसम्म हजारौं बिरामीको यहि बिधि मार्फत सफलतापूर्वक सल्यक्रिया गरेको छु । सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यो शल्यक्रिया थाले । त्यसपछि बिभिन्न देशमा थप बिस्तृत प्रशिक्षण लिएर अहिले त्यो सिपलाई नोबेलमा प्रयोग गर्दै आएको छु ।

चिरेर र प्वाल पारेर गरिने शल्यक्रियामा कत्तिको फरक छ ?

– चिरेर र ल्याप्रोस्कोपीक बिधिबाट गरिने सर्जरीमा आकाश–जमिनको फरक छ । पेट चिरेर शल्यक्रिया गर्दा दुवै हात पेट भित्र छिराउनु पर्दछ । त्यसका लागि पेटमा धेरै ठूलो चिर्नु पर्छ । त्यसले गर्दा विरामीलाई धेरै दुखाइ हुन जान्छ । दाग पनि बस्ने, रगत धेरै बग्ने र घाउँ निको हुन धेरै समय लाग्छ । तर, ल्याप्रोस्कोपिक बिधिबाट प्वाल पारेर शल्यक्रिया गर्दा त्यस्तो समस्या हुदैन । आज अप्रेसन गरिएको विरामी भोलीपल्ट धेरै सन्चो हुन्छ । भोलिपल्ट विरामीको अनुहार हेर्दा शल्यक्रिया भएको हो या हैन जस्तो लाग्छ ।
ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरु के–के छन ?

यो विधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटर र दुई तीन वटा आधा सेन्टिमिटरका प्वाल मात्र पार्न पर्दछ । जसले गर्दा बिरामीलाई दुखाइ कम हुने, रगत धेरै नजाने हुँदा रगत दिन पर्ने सम्भावना अत्यत्न न्युन हुने, घाँउ सानो भएकोले चाडँै निको हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । शल्यक्रिया गरेको २४ घण्टा भित्र बिरामी उठेर हिंडडुल गर्न सक्ने भएकोले अस्पतालबाट चाडैं डिस्चार्ज हुन पाइने तथा छिटो भन्दा छिटो आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । घाउ सानो हुन भएकोले एन्टिवायोटिक र नदुख्ने औषधि पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसके पछि घाउको दाग निकै कम देखिन्छ । अब ‘इआरसीपी’ प्रविधिको कुरा गरौं,

बिना चिरफार कसरी निकालिन्छ पित्त नलीमा भएको ढुंगा ?

– इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा सहज रुपमा निकाल्ने गरिन्छ । ढुंगालाई मुखबाटै वा आन्द्रामा लगेर छोडी दिसाको माध्यमबाट बाहिर निकालिन्छ । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट इण्डोस्कोप छिराएर ढुंगा निकाल्दा धेरै सहज हुने गरेको छ । इआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुनाले बिरामी दुई दिनमै घर फर्कन सक्छन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि अत्यन्तै लाभदायी हुन्छ ।

एकैदिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाल्न कसरी सम्भव भयो ?

– हामीसँग दक्ष चिकित्सकको टिम छ । यो पद्धति पूर्वाञ्चलमा अन्यत्र नभएकाले बिरामीको आकर्षण नोबेलमा भयो । ईआरसीपीका लागि धेरै बिरामीहरु पर्खाईमा थिए । त्यहि क्रममा हामीले एकै दिनमा हालसम्मकै सवै भन्दा ठुलो संख्यामा १४ जनाको ईआसीपी गरेका हौं ।

तपाई शल्यचिकित्सक समाजको अध्यक्षमा पनि निर्वाचित हुँनुभएको छ ? के छ तपाईको कार्ययोजना ?

– प्रदेश नं. १ मा पहिलो पटक शल्यचिकित्सक समाज गठन भएको हो । यसको मुख्य उद्धेश्य आ–आफ्नो शल्यचिकित्सिय अनुभव साटासट गर्ने, चिकित्सकहरुको शल्यक्रिया सम्बन्धि क्षमता अभिबृद्धि गर्ने र आपसी भाईचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउँने हाम्रो उद्धेश्य हो ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!