
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
उक्त फार्म तथा आसपासका क्षेत्रका कुखुराहरूमा समेत संक्रमणको लक्षण देखिएर मृत्यु हुन थालेपछी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गर्दै कुखुरा ओसार-पसारमा रोक लगाइएको जनाएका छन् ।
संक्रमणलाई थप फैलिन नदिन नगरपालिकाले प्रभावित क्षेत्रबाट कुखुरा, चल्ला, दाना, अण्डा, मासु र फार्ममा प्रयोग हुने उपकरणहरूको ओसारपसार अर्को सूचना नभएसम्मका लागि पूर्णरूपमा रोक लगाएको छ ।
नगरपालिकाले कुखुरापालक कृषकहरूलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश निषेध गर्न र प्रवेश तथा निस्कने स्थानमा चुना, फिनेल, स्यानिटाइजर वा साबुन पानी जस्ता कीटाणुनाशक पदार्थको अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।
विज्ञप्तिमा कुनै पनि फार्ममा कुखुराहरू असामान्य रूपमा बिरामी भएमा वा अचानक मृत्यु भएमा तुरुन्तै वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ ।
सर्वसाधारणलाई बिरामी वा मृत कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । संक्रमित, शंकास्पद र मृत कुखुराहरूलाई सम्बन्धित मापदण्ड अनुसार सुरक्षित रूपमा नष्ट र व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीय बजार र कुखुरा पसलहरूलाई सम्बन्धित निकायबाट गरिने अनुगमन र निर्देशनहरूको पूर्ण पालना गर्न निर्देशन दिँदै संक्रमण नियन्त्रण र रोकथाममा सम्पूर्ण नगरबासीहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ ।


संगालोखबर 

















