
विराटनगर । जल तथा मौसम विज्ञान विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार भोलि शनिबार मोरङ जिल्ला (विशेषगरी विराटनगर क्षेत्र) मा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।
प्रि-मनसुनको अवधि समेत रहेकाले यो शक्तिशाली हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने तथा विद्युत एवं सञ्चार सेवा पूर्णरूपमा प्रभावित हुन सक्ने जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा भोलि काम नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आग्रह गरिएको छ ।
पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा चलेको हावाहुरीका कारण मानिसहरूको मृत्यु हुने तथा घाइते हुने जस्ता दुःखद घटनाहरू भइरहेको सन्दर्भमा प्रशासनले विशेष सावधानी अपनाउन अपिल गरेको हो ।
हावाहुरी चलेको समयमा घरका झ्याल-ढोकाहरू राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू निभाउन र सवारी साधन चलाइरहेको भए तत्काल रोकेर सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ ।


संगालोखबर 

















