
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ ।
विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो । जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अन्तिम खेल भोलि हुने छ ।
टस जितिर ब्याटिङ गरेको सुन्सरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय २ रन बनाएको थियो । सुनसरीका आशिष मण्डलले २५ रन बनाउँदा रोशन घिमिरेले १६, अफान ताहिरले १३ र आकाश सर्राफले १० रनको योगदान दिए ।
मोरङका कृष शर्माले ९ दशमलव ४ बलमा १ मेडन राख्दै ४९ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले ३ विकेट तथा महबुव इराकी र अमर यादवले १-१ विकेट लिए ।
जवाफमा १ सय ३ रनको झिनो लक्ष्य पाएको मोरङ २३ दशमलव २ बलमा सवै विकेट गुमाई मात्र ८१ रनमा अलआउट भयो । मोरङका अटल साहले अविजित २२ रन बनाउँदा आइन्सटाइन रिजालले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
सुनसरीका प्लेयर अफ म्याच कविराज खत्रीले १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर ५ विकेट लिँदा रविन मण्डलले ३ विकेट लिए । भोलि विजेता हुने टोलीले उपाधि हात पार्ने आयोजकले जनाएको छ ।

संगालोखबर 

















