चितवन। रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ ।

विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो । कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड आठ र रामपुर हाइब्रिड दश जातलाई अनुमोचन प्राविधिक उपसमितिले पास गरिसकेको छ ।

कार्यक्रम प्रमुख केशवबाबु कोइरालाका अनुसार ती जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका हुन् । यसअघि तराईका लागि रामपुर हाइब्रिड दुई, चार र छ जात सिफारिस भइसकेको उहाँले बताउनुभयो ।

यसैगरी पहाडलाई पनि हुनेगरी खुमल हाइब्रिड दुई पनि सिफारिस भइसकेको छ । हाइब्रिडका विभिन्न जातहरु विकास गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

सो कार्यक्रमले तराई, भित्रि मधेस, पहाड र उच्च पहाडका लागि मकैका जात तथा अन्य प्रविधिको विकास गर्दै आएको छ । हालसम्म खुल्ला सेचित जातमा तराईका लागि रामपुर कम्पोजिट र अरुण दुई, मध्य पहाडका लागि मनकामना तीन, चार, पाँच र छका साथै देउती र सितला जात बढी उत्पादन हुनेमा चिनिन्छ ।

त्यसैगरी उच्च पहाडीमा गणेश एक र दुई बढी प्रयोग हुँदै आएका छन् । सो कार्यक्रममार्फत पहाडका लागि कृषि अनुसन्धान केन्द्र पाख्रिवास धरान, पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखा, कृषि वनस्पति महाशाखा ललितपुर, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले कास्की, कृषि अनुसन्धान केन्द्र दैलेखमा बीउको विकास गर्ने काम भइरहेको छ । कोइरालाका अनुसार यसका अतिरिक्त उच्च पहाडका लागि किसानका खेतमा पनि परीक्षण गर्ने कार्य भइरहेको छ ।
तराईका लागि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरी, तेलबाली अनुसन्धान कार्यक्रम सर्लाही, कृषि अनुसन्धान केन्द्र बेलाचापी धनुषा, क्षेत्रीय अनुसन्धान केन्द्र परवानीपुर बारा, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नेपालगन्ज, क्षेत्रीय अनुसन्धान केन्द्र डोटी, कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा बीउको विकासका लागि अनुसन्धान भइरहेको छ ।

रामपुरमा मात्रै ७५ हेक्टर जमिनमा मकैको जात विकासका लागि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

नेपालमा आठ लाख हेक्टर जमिनमा मकै रोपिन्छ । जसमध्ये १० प्रतिशत क्षेत्रमा हाइब्रिड जात लगाइने कोइरालाले बताउनुभयो । रामपुरले व्यावसायिक रुपमा हाइब्रिड जातको बीउ उत्पादन गरी किसानलाई दिएको छैन ।

कार्यक्रमले विकास गरेको हाइब्रिड जातको मकै अनुसन्धानका लागिमात्रै प्रयोग हुँदै आएको छ । सम्पूर्ण हाइब्रिड जातको बीउ विदेशी बहुर्राष्ट्रिय कम्पनीले नेपालमा बिक्री गर्दै आएका छन् ।

कोइरालाका अनुसार हाइब्रिड जात आठदेखि १० टन प्रतिहेक्टर उत्पादन हुन्छ भने खुल्ला सेचित जातको उत्पादन औषत दुई दशमलव पाँच टन प्रतिहेक्टरमात्र रहेको छ । परीक्षणका क्रममा भने पाँचदेखि छ दशमलव पाँच टन प्रतिहेक्टर उत्पादन भएको उहाँले बताउनुभयो ।

सरकारी तबरबाट ठूलो मात्रामा हाइब्रिड जातको बीउ उत्पादन गर्न कठिन हुने भएकाले निजी क्षेत्र र सहकारीलाई अगाडि सार्नुपर्ने कोइरालाको भनाइ छ ।

कार्यक्रमले प्राविधिक सहयोग गर्ने बताउँदै उहाँले मकैको उत्पादन बढाउन निजी क्षेत्र र सहकारीले बीउ उत्पादन गरेर सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

जग्गा जमिन नबढ्दा पनि उत्पादन बढाउनुपर्ने भएकाले कम लगानीमा धेरै उत्पादन हाइब्रिड जात उपयुक्त हुने भएकाले हाइब्रिडका नयाँ मूल बीउ उत्पादनका लागि कार्यक्रम तल्लिन भएको पनि उहाँले बताउनुभयो ।

चितवन जिल्ला पनि मकै उत्पादनका लागि उर्वर जिल्लामा गनिन्छ । वर्षमा तीन बाली मकै उत्पादन हुने गर्छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार जिल्लामा कुल मकै लगाइने २५ हजार हेक्टरमध्ये आठ हजार हेक्टरमा हाइब्रिड जातको मकै लगाइने गरेको छ । कृषकको पहिलो रोजाइ हाइब्रिड रहेको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!