धनकुटा । साँगुरीगढीको अजम्वरी युवा क्लवले धनकुटाको शहीदभूमी गाउँपालिकामा सञ्चालित सातौं शहीदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लामेचउर खेल मैदानमा भएको फाईनलमा मोरङको पथरीलाई ३–१ गोलले पराजित गर्दै अजम्वरीले उपाधिमाथि कव्जा जमाएको हो ।
अजम्वरीलाई उपाधि चुमाउन नविन माझीले दुई र कबिर लिम्बुले एक गोल गरे । यता, पथरीकालागि बिप्लव मैनालीले एक गोल गरे । उपाधि बिजेता अजम्वरी युवा क्लवले नगद ७५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उप–बिजेता पथरीले ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा अजम्वरीका आसिस गिरी उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिता अवधिभर ७ गोल गर्दै पथरीका बिप्लव मैनाली सर्वाधिक गोलकर्ता बने । गिरी र मैनालीले जनही ३ हजार १ सय पुरस्कार पाए । बिजयी टिम र खेलाडीलाई प्रदेशसभा सांसद निरन राई, गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर, सुनसरी र मोरङका २६ टिमवीच खेल भएको आयोजक मितेरी युवा क्लवले जनाएको छ ।
२०३६ सालमा पञ्चायती शासन व्यवस्था विरुद्धको आन्दोलनमा खोकु, छिन्ताङ्ग र आँखिसल्लाका १६ जना शहीद भएका थिए । उनीहरुकै संझनामा २०७० सालदेखि हरेक बर्ष यो प्रतियोगिता हुँदै आएको छ ।