रौटहट । रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका अलमलाई बम बिस्फोट घटनामा संलग्न र घाईतेको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
२०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए ।
प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेको थियो ।
सर्वोच्चको आदेश अनुसार आरोपी अलामलाई पक्राउ गरेर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । आलम नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्यसमेत हुन् ।