जापान । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा नौ जना मानिसको मृत्यु भएको र कैयौँ अरू हराइरहेका छन्। शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिसकहाँ बिजुली काटिएको छ।

हगिबिस अहिले उत्तरतिर बढिरहेको छ र समुन्द्रतिरै फर्कने ठँनिएको छ। हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो।

त्यसपछि उक्त आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ। जापानी समाचार संस्था एनएचकेका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ।

कति खतरनाक छ आँधी?

सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएको छ। तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन्।

जापानी मौसम पूर्वानुमान निकाय जेएमएकी यसुशी काजिवाराले सञ्चार माध्यमलाई दिएको जानकारीमा “शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा देखिएको छ।”

जेएमएले शनिवार दिउसोदेखि आइतवार सम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ। कैयौँ बुलेट ट्रेन सेवा रोकिएका छन्। टोक्योको मेट्रो सर्भिस पनि शनिवार दिनभरजसो रोकिएको थियो।

टोक्योको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका गरि करिब एक हजार सबै उडानहरू रद्द गरिएका छन्।

पश्चिम टोक्योस्थित हाचीओजी शिविरमा रहेका एक स्थानीयबासी जेम्स ब्याबले बीबीसीलाई उनको नदी किनारमा रहेको घर बग्ने खतरामा रहेको बताए। “म र मेरी एकजना अशक्त नातेदार यो शिविरमा बसिरहेका छौँ, हाम्रो घर बाढीमा पर्न सक्छ। उनीहरूले हामीलाई ब्ल्याङ्केट र बिस्कुट दिएका छन्।”

गत महिना मात्रै टाइफुन फक्साइले जापानका केही भागमा विध्वँश मच्चाउँदा ३० हजार घरहरूमा क्षति पुगेको थियो ती मध्ये धेरै घरहरू अझ पनि मर्मत सम्भार गरिएको छैन।

तातेयामा चीबामा बनाइएको एउटा शिविरमा बसिरहेका ९३ वर्षीय व्यक्तिले एनएचकेलाई भने “अघिल्लो आँधीले मेरो छानोमा क्षति पुर्‍याएको थियो त्यसैले पानी चुहिन लागेपछि मेरो उद्धार गरियो। मेरो घरबारे म असाध्यै चिन्तित छु।” – बीबीसी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!