- सन्तोष रुचाल/संगालोखबर
धनकुटा नगरपालिकाको नर्सरीमा उत्पादित एभोकाडोका बिरुवा । तस्वीर : सन्तोष रुचाल/संगालोखबर

धनकुटा । एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटा नगरपालिका क्षेत्रका कृषकहरुलाई एभोकाडोका ६ हजार ५ सय बिरुवा वितरण गरिएको छ । नगर क्षेत्रका कृषकहरुलाई एभोकाडोको व्यवसायिक खेतीमा आकर्षित गराउने उद्देश्यले धनकुटा नगरपालिकाले आफै नर्सरी स्थापना गरी विरुवा वितरण गरेको हो ।

नगरपालिकाको कम्पाउण्ड भित्र नर्सरी स्थापना गरी उन्नत जातका विरुवा उत्पादन गरेर कृषकहरुलाई सहुलियत दरमा वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए । ह्यास, ल्यामह्यास्, बाकोन र गोयन जातका बिरुवा उत्पादन गरेर कृषकहरुलाई प्रतिगोटा ५० रुपैयाँका दरले विक्री गरिएको हो । ती बिरुवाको बजार मुल्य प्रतिगोटा २ सय रुपैयाँ भन्दा बढी पर्छ । उन्नत जात बाहेक अन्य एभोकाडोका बिरुवा प्रतिगोटा एक सय रुपैयाँसम्ममा पनि खरिद/बिक्रि हुँने गरेको छ ।

नौ सयदेखि १२ सय फिट उचाईमा उत्पादन हुने एभोकाडोका लागि धनकुटा उपयुक्त क्षेत्र मानिन्छ । फलफुलको राजा मानिने एभोकाडो जुनसुकै समस्या भएका विरामीहरुले पनि खान मिल्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । तथापी एभोकाडोको व्यवसायिक खेती अहिलेसम्म धनकुटा र इलाममा मात्र गरिदै आएको नगरपालिकाका कृषि विज्ञ जीवन राईले बताए । अन्य जिल्लामा एभोकाडोको खेती फाटफुट मात्रामा हुँदै आएको छ ।

धनकुटामा एभोकाडोको फल फल्ने रुख २६ हजार छन् भने बार्षिक एक लाख किलो उत्पादन हुने गरेको तथ्यांक छ । आगामी बर्षमा एभोकाडोको अझ बढी विरुवा उत्पादन गरेर कृषकलाई सहुलियत दरमा वितरण गर्ने नगरपालिकाको योजना छ ।

धनकुटामा गत वर्ष एभोकाडोको बिरुवा उत्पादन तथा बिक्रिबाट ७ करोड आम्दानी भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!