देबराज राई

उदयपुर। मोफसलकै सर्वाधिक लोकप्रिय, सौन्दर्य तथा गायन प्रतियोगिता ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ र ‘मिस स्टेट–१’ साउन पहिलो सातादेखि शुरु हुने भएको छ । गायनतर्फ सातौँ तथा सौन्दर्यतर्फ दोस्रो संस्करणको प्रतियोगिताका लागि ४ गतेदेखि पहाडी जिल्ला पाँचथरबाट अडिशन थालिने भएको हो ।

Advertisement

प्रतिस्पर्धामार्फत प्रतिभालाई उचित ‘प्लेटफर्म’ उपलब्ध गराउदै आएको पूर्वाञ्चल बागीना कला केन्द्र धरानले यसवर्ष पनि नयाँ प्रतिभावान व्यत्तिहरुको खोजीलाई निरन्तरता दिएको संयोजक भक्तिराज राईले जानकारी दिए । कार्यक्रमबारे जानकारी दिन धरानमा आयोजित पत्रकार सम्मेलनमा गायन तथा सौन्दर्य दुवै प्रतियोगिताका लागि सहभागी छनोटको अडिशन एकैसाथ गरिने जानकारी गराइएको छ ।

१ नम्बर प्रदेशको १४ वटै जिल्लामा पुगेर पहिलो चरणको अडिसन लिने कार्यक्रम तय भएको संयोजक राईले बताए । नेपाली गीतमात्र गाउन पाइने नियमसहित गायनतर्फको प्रतिष्पर्धा अवधिभर अडिसन राउण्डदेखि फिनालेसम्म पार गर्दा ११ चरण पूरा गर्नुपर्नेछ । त्यस्तै गायनतर्फ फिनालेका लागि उत्कृष्ट– १० प्रतिस्पर्धी छानिने छन् ।

बन्द प्रशिक्षणका लागि ३० जना प्रतिस्पर्धी छनोट गरिने मिस स्टेट–१ मा १५ देखि २५ वर्षसम्मका युवतीहरुको सहभागीता रहनेछ । सो क्रममा उनीहरुलाई क्षमता तथा व्यक्तित्व विकास र बौद्धिक अभिबृद्धिलगायतका बारेमा अभ्यास गराइने छ । बन्दकक्षका प्रशिक्षार्थीलाई सञ्चारकर्मीसमेत रहेकी कोरियोग्राफर, मोडल मेरिना तुम्सालगायतले प्रशिक्षण दिने संयोजक राईले जानकारी दिए ।

सौन्दर्यतर्फ मिस स्टेट–१ विजेताले २ लाख रुपैयाँ मूल्य बढीको स्कुटरसँगै क्राउन र अवार्ड हात पार्नेछन् । प्रतियोगितामार्फत फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमसः ५० र २५ हजार रुपैयाँ साथमा क्राउन र अवार्ड प्राप्त गर्नेछन् । निर्णायक र पब्लीकबाट रोजाईमा पर्ने बिभिन्न बिधा मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, बेष्ट स्माइल, बेष्ट फिगर, बेष्ट क्याटवाक, मिस चार्मिङ, मिस एसएमएस भोटिङ, मिस फोटोजेनिक र मिस एक्टीभ अवार्ड समेत प्रतियोगीहरुले प्राप्त गर्नेछन् ।

यता आयोजकका अनुसार गायनतर्फको विजेताले नगद ५० हजारसहित एउटा गीत रकर्ड, म्यूजिक भिडियो र एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् । दोस्रो र तेस्रो हुनेले क्रमसः नगद २५ र १५ हजारसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क संगीत सिक्ने अवसरसँगै एउटा गीटार उपलब्ध गराइनेछ । बेष्ट भोकलिष्ट, बेष्ट डिस्प्लिन, बेष्ट परफमेन्स र बेष्ट पब्लिक च्वाइस अवार्डसमेत बिधागत रुपमा प्रदान गरिने संयोजक राईको भनाई छ ।

झन्डै ८ वर्ष पहिले स्थापना भएको कला केन्द्रले ६ वर्षयता निरन्तर आयोजना गर्दै आएको गायन प्रतियोगिता राजधानी बाहिरकै उत्कृष्ट मानिन्छ । यसअघिको प्रतियोगिताहरुमा तेह्रथुमका संगम चोङबाङ, ताप्लेजुङकी प्रकृति थलङ, भोजपुरकी सृजना तामाङ, तेह्रथमका दिलनबाबु लिम्बू, भोजपुरका सुमन राई र सुनसरीबाट पदमबहादुर मगरले गायनतर्फको अवार्ड प्राप्त गरीसकेका छन् । त्यसैगरी मिस स्टेट–१ को पहिलो उपाधी (स्कुटर) सहित ताज पहिरिने सहभागी उदयपुरकी रमिला बस्नेत हुन् ।

‘प्लेटफर्म’ अभावमा खड्कीरहेका प्रतिभालाई न्याय दिनु हाम्रो उद्देश्य हो ।’ गायक तथा संगीतकारसमेत रहेका कार्यक्रम संयोजक राईले भने, ‘हाम्रोभन्दा राम्रो प्रतिभाले साथ पाउनुपर्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!