काठमाडौं । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।

Advertisement

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो ।

९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एशियामै खपत हुने गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६० दशमलव ४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ ।

खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन सरकारले प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!