- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । मटरकोसा उत्पादनमा १० प्रतिशत उत्पादकत्व बढाउन सफल धनकुटाका कृषकहरुलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन सिधुवाले कृषकहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको हो ।

जिल्लाको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका ४५ वटा कृषि समुहका ६ सय ५७ जना कृषकलाई अनुदान दिईएको छ । केराउ मटरकोसा उत्पादनमा कृषकहरुले यसवर्ष १० प्रतिशत उत्पादन बढाएकाले प्रोत्साहन स्वरुप अनुदान दिईएको तरकारी जोन सिधुवाका प्रमुख देवेन्द्र साहुले बताए ।

उनका अनुसार महालक्ष्मी–८ र ९ का कृषकलाई एक लाख ७१ हजार ८ सय, छथर जोरपाटी–६ का कृषकलाई एक लाख ७४ हजार ३ सय, वडा नं. ५ का कृषकलाई एक लाख ६८ हजार र वडा नं. २ का कृषकलाई एक लाख ८५ हजार ८ सय वितरण गरिएको छ ।

अनुदान वितरण कार्यक्रममा महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले कृषि क्षेत्रको व्यावसायिकरणमा टोल सुध्रिन आवश्यक रहेकाले महालक्ष्मी नगरपालिकाले यसै वर्षदेखि टोल सुधार अभियान सुरुवात गरेको बताए ।

छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले तरकारी आयात बढिरहेको अवस्थामा सरकारले प्रधानमन्त्री कृषि जोन कार्यक्रम मार्फत कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्नु सकारात्मक र प्रभावकारी कदम भएको टिप्पणी गरे ।

प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अनुसार हरेक वर्ष कृषकहरुलाई जोन मार्फत नेपाल सरकारले प्रोत्साहन अनुदान दिदै आएको छ । गत बर्ष बन्दाकोपीमा अनुदान दिईएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!