अस्ट्रेलिया । नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा ठूलो फड्को मारेका छन् । यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सूचीमा उनीहरू १ दशमलव १८ बिलियन डलरसहित ७८ औं नम्बरमा पर्न सफल भएका छन् ।

Advertisement

गोरखामा जन्मिएका शेष घले करिब दुई दशकअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया भित्रिएका थिए । सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हालेका उनी पहिलोपटक सन् २००९ मा बीआरडब्लू पत्रिकाले सार्वजनिक गर्ने अस्ट्रेलियाली धनीहरूको सूचीमा पर्न सफल भएका थिए । लामो समयदेखि अस्ट्रेलियाका धनीहरूको सूची सार्वजनिक गर्दै आएको फाइनान्सियल रिभ्युले शुक्रबार साँझ सार्वजनिक गरेको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ७८ औं धनी बन्न सफल बनेका हुन् ।

यसअघि गत मार्चमा यहाँकै प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले सार्वजनिक गरेको धनीहरूको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ८५ औं धनीको सूचीमा सूचीकृत भएका थिए । घले दम्पती पहिलोपटक यस वर्षदेखि अस्ट्रेलियाको बिलिनियरको सूचीमा पर्न सफल बनेका हुन् । गत वर्ष ८ सय ७६ मिलियन डलरसहित ८१ औं धनीको सूचीमा परेका थिए । सूची सार्वजनिक भएपछि घलेले सूचीमा कति नम्बरमा परियो भन्ने भन्दा पनि आफूलाई थप जिम्मेवारी थपिएको महसुस भएको बताए । ‘मुख्य कुरा आफू कति मेहनत र लगनशील भएर काम गर्ने हो, त्यसमा आफ्नो सफलता भर पर्दछ,’ घलेले भने ।

उनले सही समयमा सही अवसरलाई पहिचान गरेर अघि बढ्न सक्नुपर्ने अनुभव सुनाए । अन्यले कुन व्यवसाय गरिरहेका छन् भन्नुभन्दा पनि आफूले आफ्नो योग्यताअनुसारको व्यवसायलाई छनोट गरेर अघि बढेको खण्डमा सफलता मिल्ने उनको भनाइ छ । अस्ट्रेलियामा अहिले रहेका हजारौं नेपालीहरूमध्ये धेरैले भविष्यमा यही किसिमको सफलता पाउने विश्वाससमेत उनले व्यक्त गरे । ‘अहिले रहेका हजारौं विद्यार्थी भाइबहिनीहरूमध्ये धेरैले यही सफलता पाउनुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

अस्ट्रेलियाको मेलबर्नमा रहेर व्यवसायमा संलग्न घले दम्पतीले आफ्नो व्यवसायलाई घरजग्गा, होटल, शिक्षा लगायतका विभिन्न क्षेत्रमा बढाएका छन् । करिब दुई दशक पहिले नेपालबाट विद्यार्थीका रूपमा आएका उनले सुरुका समयमा सामान्य विद्यार्थीसरह नै मेहनत गरेका थिए । हरेक वर्ष सयौं मिलियन डलर आफ्नो कुल सम्पत्तिमा थप्दै आएका उनको सम्पत्ति दुई वर्षअघि सन् २०१७ मा ६ सय ४७ मिलियन रहेको थियो ।

घलेले नेपालमा ८ अर्बको लागतमा शेराटन होटल निर्माण गरिरहेका छन् भने मेलबर्नको मुख्य क्षेत्रमै २९० कोठाको पाँचतारे होटल निर्माण गरिरहेका छन् । यसका साथै २० हजार वर्गमिटर क्षेत्रफलको कार्यालय भवनसमेत निर्माण भइरहेको उनले सुनाए । पहिले २ वटा भवनमा निर्माण गर्ने भनिएको उक्त होटल अहिले एउटा भवनमा सबै संरचना निर्माण गरिने भएको छ । यसका साथै उनको मेलबर्नमा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी नामको शैक्षिक संस्थासमेत सञ्चालनमा छ ।

सार्वजनिक सूचीमा निर्माण क्षेत्रका एन्थोनी प्राट र परिवार १५ दशमलव ५ बिलियन डलरसहित पहिलो धनी बनेका छन भने माइनिङ क्षेत्रकी जिना राइनहार्ट १३ दशमलव ८ बिलियनसहित दोस्रो र हयारी टि्रगोबोफ १३ दशमलव ५ बिलियनसहित तेस्रो धनी बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!