काठमाडौं,  २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले प्रदेश १ र ३ को नाम नदीबाट राख्न सम्बन्धित प्रदेशका नेतालाई केन्द्रबाटै निर्देशन पठाएको छ ।
स्रोतका अनुसार प्रदेश १ को नाममा नेकपाका सांसदहरु नै विभाजित भएर मतदानको अवस्था आउन लागेको भन्दै केन्द्रले हस्तक्षेप गरेको हो ।

Advertisement

संविधानतः प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्नुपर्ने हुन्छ । तर, प्रदेशका नेकपा नेताहरु आत्मनिर्णय गर्न नसकेपछि केन्द्रको आदेश पर्खनतिर लागेका छन् ।

नेकपा केन्द्रीय कार्यालयले औपचारिक वा लिखित निर्देशन नपठाए पनि पार्टीको प्रदेश कमिटीका पदाधिकारी र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिई प्रदेशको नाम कोशी र राजधानी बिराटनगर बनाउन भनेको हो । नेकपा प्रदेशसभा संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।

स्रोतका अनुसार सोही प्रदेशमा घर भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाम र राजधानीमा चासो राखेपछि प्रदेश सभा सदस्यलाई हृवीप लगाएर भने पनि सोही निर्णय पारित गराउन लागिएको हो । प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेकाले उसले जे चाहृयो त्यही पारित हुने अवस्था छ ।

नेकपाभित्र पूर्वमाओवादी पक्षका सांसदहरु भने प्रदेश १ को नाम किरात राख्नुपर्ने पक्षमा थिए । खोटाङका रामकुमार राई लगायतका केही सांसदले त किरात प्रदेश नाम नराखिए बिद्रोह गर्ने चेतावनी समेत दिएका थिए । पूर्वएमालेका पनि कतिपय सांसद किरात-कोशी वा किरात-सगरमाथाको पक्षमा थिए ।

किरातमा सहमति नभए पनि सगरमाथा प्रदेश र इटहरी राजधानी राख्ने पक्षमा नेकपाका बहुमत सांसद भए पनि अन्ततः पार्टीले कोशी प्रदेश र बिराटनगर राजधानी कायम गर्न निर्देशन दिएको एक नेताले बताए ।

यद्यपि राजधानी भने सुनसरी र मोरङका १८ स्थानीय तह समेटेर वृहत विराटक्षेत्र भनिने र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालय अलग-अलग ठाउँमा राखिने सम्भावना रहेको स्रोतले बतायो ।

नेकपाभित्र प्रदेशको नाम र राजधानीलाई लिएर तीन दिनदेखि बैठक र छलफल भइरहेका थिए । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रदेश इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिएपछि अवस्था अर्कै भयो । यसप्रति नेकपाका सांसदहरुले असन्तुष्टि पोखेका छन् ।

यसैबीच प्रदेश ३ को नाम र राजधानीमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको निर्देशन नै अन्तिम हुने नेकपा स्रोतले जनाएको छ । प्रदेश राजधानी हेटौंडा नै कायम हुने लगभग निश्चित भएको छ । यसअघि नेकपाका अधिकांश सांसदले काभ्रे राजधानी भन्दै आए पनि काभ्रेमा राजधानी राखिने सम्भावित ठाउँ आइटी पार्कमा सुरक्षण मुद्रण स्थापना गर्ने निर्णय भइसकेको छ ।

नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्ड राजधानी हेटौंडाबाट सारेर पुनः आन्दोलन निम्त्याउन चाहँदैनन् । हेटौंडा नेकपाको राजनीतिक गढ भएकाले पनि पार्टीलाई असर पर्ने गरी हेटौंडाबाट राजधानी सार्ने पक्षमा छैनन् । स्रोतका अनुसार अध्यक्ष ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई राजधानी हेटौंडा नै प्रस्ताव गर्न ‘अनुमति’ दिइसकेका छन् ।

प्रदेश ३ को नाममा भने अझै पनि बहस चलिरहेको छ । नेकपा स्रोतका अनुसार प्रदेशको नाम अन्य प्रदेशमा जस्तै नदीबाटै राखिने सम्भावना छ । त्यसो भएमा ३ नम्बर प्रदेशको नाम बागमती हुनेछ । यद्यपि नेकपाकै कतिपय सांसदले ताम्सालिङ, नेपाल मण्डल लगायतका नामहरु प्रस्ताव गरेका छन् ।

प्रदेश १ र ३ दुबैमा प्रतिपक्षी बेञ्चमा रहेको नेपाली कांग्रेस भने राजधानी र नामका विषयमा मौन बसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!