बैतडी। बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबाछोरा उम्मेदवार बनेका छन् ।

Advertisement

पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले)का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ भने उहाँका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । नाताले बुबाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरु अलगअलग पार्टीबाट उम्मेदवार बनेको उज्ज्वल साउदले बताउनुभयो ।

उज्ज्वलका बुबा नागी पनि अहिले चुनावी प्रचारप्रसारमा जुट्नु भएको छ । विसं २०५४ को स्थानीय निर्वाचनमा साविकको कोटिला गाविसको अध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभव भएकाले आफूले अहिले पनि उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

बुबाछोरा उम्मेदवार बनेपछि दुवैले आफ्नै किसिमले प्रचारप्रसार गरिरहेका छन् । पहिलेको निर्वाचनमा जितेको र सबैले चिनेका व्यक्ति भएकाले आफूले वडा अध्यक्ष पदमा जित्ने नागी बताउनुहुन्छ । उज्ज्वल आफू युवा वर्गको समर्थनमा जित्ने दाबी गर्नुहुन्छ ।

एकैघरका दुईजना उम्मेदवार बनेपछि घरपरिवारका अन्य सदस्यलाई भने मतदानका विषयमा अलमल परेको छ । नागीकी श्रीमती एवम् उज्ज्वलकी आमा नन्दालाई सबैभन्दा बढी समस्या भएको छ । श्रीमान् र छोरा दुवै उम्मेदवार बनेपछि उहाँ कसैलाई पनि भोट नहाल्ने मनस्थितिमा पुग्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!