तेह्रथुम, ८ बैशाख। बसाइँ सर्ने क्रम बढेर गाउँ नै रित्तो बन्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आउनेलाई प्रोत्साहनस्वरुप व्यवसायिक प्रस्तावका आधारमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म अनुदान दिन थालेको छ । बसाइँ सराइका कारण जनसंख्या घट्दै गएर विकास निर्मांणमै असर परेपछि गाउँपालिकाले यस्तो जुक्ति निकालेको हो ।

Advertisement

सुविधाको खोजीमा बसाइँ सराइले गाउ रित्तिएपछि छथर गाउपालिकाले छथरमा बसाइँ सरेर नयाँ आउनेलाई अनुदान दिएर भए पनि जनसंख्या बढाउने उपाय निकालेको हो । छथर गाउँपालिका भित्र रहेको जनसंख्या घटेर सडक, विद्युत, खानेपानी, सन्चार, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार निर्माणमा लागत बढेकाले  जनसंख्या बढाएर भएपनि विकास निर्माणको काम अघि बढाउन गाउँपालिकाले बसाइँ सरेर छथरमा आउनेको व्यवसायिक प्रस्तावका आधारमा अनुदान दिन शुरु गरेको हो ।

बसाइँ सरेर आउनेको व्यवसायिक प्रस्तावका आधारमा  एक लाख रुपैयाँबाट सुरु गरेर पाच लाख रुपैयाँसम्म अनुदान दिने गाउँपालिकाको योजना छ । प्रदेश एकका विभिन्न जिल्लाबाट बसाइँ सरेर छथर गाउँपालिकामा आउने १४ परिवारको प्रस्तावका आधारमा गाउँपालिकाले प्रथम चरणको अनुदान रकम नै हस्तान्तरण गरिसकेको छ । व्यवसाय गर्न इच्छुक परिवारलाई गाउँपालिकाले एक लाख देखि पाँच लाख रुपैयाँसम्म अनुदान भएपछि साहुसँग चर्को ब्याजमा ऋण लिनु नपर्ने भएको बसाइँ सरेर आउनेको भनाइ छ ।

६ हजार ७ सय १५ जनसंख्या रहेको छथर गाउँपालिकाले आगामी ५ वर्ष भित्र जनसंख्या बढाएर २५ हजार पुर्‍याउने लक्ष्य लिएको छ । बसाइँ सरेर आउनेलाई वितरण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि दश लाख रुपैयाँको बजेट नै छुट्याएको छ ।

अनुदान रकम दिन थालेपछि गएको साउन महिनायता पूर्वका धनकुटा लगायत ६ जिल्लाबाट १८ परिवार छथर गाउँलिकामा बसाइँ सरेर आइसकेका छन् । बसाइँ सरेर गाउँ नै रित्तिन थालेका अन्य जिल्लाका गाउँपालिकाले पनि तेह्रथुमको छथर गाउँपालिकाको यो जुक्तिको अनुशरण गर्ने कि ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!