सलमान खान बलिउड इन्डस्ट्रीका सबैभन्दा व्यस्त अभिनेता हुन् । उनी एकसेएक फिल्म लिएर आइरहेका छन् । हालै उनले नयाँ फिल्म ‘भारत’ को छायांकन सेड्युल पूरा गरेका छन् । यो फिल्म यही इदमा रिलिज हुँदैछ । उनी अहिले हिट फ्रेन्चाइज ‘दबंग’ को तेस्रो सिरिजमा व्यस्त छन् । यसका अलावा उनले केही ठूला फिल्मको घोषणा गरेका छन्, जुन ‘ब्याक टू ब्याक’ फ्लोरमा जाँदैछन् ।

भारत

यो एक पिरियड ड्रामा फिल्म हो । यसमा सलमान पाँच अलग-अलग लुक्समा देखिनेछन् । फिल्मका निर्देशक अली अब्बास जफर हुन् । टिजर सार्वजनिक भइसकेको यो फिल्मको अहिले धेरैलाई ट्रेलरको प्रतिक्षा छ । फिल्ममा सलमानका अलावा कटरीना कैफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राफलगायतका कलाकारहरुको अभिनय छ

दबंग ३

हिट फ्रेन्चाइज ‘दबंग’ को तेस्रो पार्टको छायांकन यतिबेला भारतको मध्यप्रदेशको महेश्वरमा भइरहेको छ । फिल्मलाई प्रभू देवाले निर्देशन गरिरहेका छन् । यसअघि सलमानलाई लिएर उनले ‘वान्टेड’ बनाएका थिए । फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हा देखिनेछिन् । यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउने सम्भावना छ ।

इन्शाअल्लाह

सलमानले ‘दबंग ३’ पछि भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ मा काम गर्दैछन् । ‘हम दिल दे चुके सनम’ रिलिजको २० वर्षपछि सलमान र सञ्जयको टिमअप भएको हो । यसमा सलमानको अपोजिटमा अभिनेत्री आलिया भट्ट अनुबन्ध भएकी छन् । फिल्म लभस्टोरी जनरामा बन्ने बताइएको छ ।

वेटरन

सलमान खानले हालै एक अन्तर्वार्तामा ‘वेटरन’ को हिन्दी रिमेकमा काम गर्ने बताएका छन् । यो एक साउथ कोरियन फिल्म हो । अतुल अग्निहोत्रीले फिल्मको राइट्स लिएका छन् । सलमानले भनेका छन्, ‘यो फिल्मको कथा मलाई निकै मनपरेको छ । फिल्म पनि राम्रोे बन्नेछ । भन्सालीको फिल्मपछि यो गर्नेछु ।’

टाइगर जिन्दा हे फ्रेन्चाइज

‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’, दुबै फिल्म बक्सअफिसमा जबरजस्त हिट साबित भएको थियो । हालै साउदी फिल्म फेस्टिवलमा सलमानले कटरीना आफ्नो ‘फेभरेट स्टार’ रहेको बताउँदै फिल्म ‘भारत’ पछि ‘टाइगर जिन्दा हे’ को तेस्रो पार्टमा सँगै काम गर्ने बताएका छन् । अहिले यसका लागि अली अब्बास जफरले कथामा काम गरिरहेका छन् ।

सूरज बडजात्याको फिल्म

‘प्रेम रत्न धन पायो’ फिल्मको सफलतापछि सलमानले भेट्रान निर्देशक सूरज बडजात्याको एक अर्को फिल्म साइन गरेका छन् । एक अन्तर्वार्ताको क्रममा सूरजले भनेका छन्, ‘मैले फिल्मलाई लिएर सलमानसँग कुरा गरेको छ । यो एक फेमिली ड्रामा फिल्म हुनेछ । यसमा कुनै एक्सन हुने छैन ।’ यद्यपि, सलमानले सूरजसँग अर्को फिल्म गर्ने विषयमा मुख खोलेका छैनन् ।

किक २

सलमान खानको सुपरहिट फिल्म ‘किक’ सन् २०१४ मा रिलिज भएको थियो । यसको सिक्वेल बन्ने घोषणा भइसकेको छ । यो कुराको औपचारिक घोषणा निर्माता तथा निर्देशक साजिद नाडियाडले गएको वर्षको मार्चमा गरेका थिए । ज्याकलीन फर्नान्डिजले पनि एक अन्तर्वार्तामा ‘किक’ को सिक्वेल बन्ने र आफू पनि हुने जानकारी दिएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!