भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुने भएको छ ।

Advertisement

करिब रु २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने बताइएको छ । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट सो मूर्ति स्थापना गर्न लाग्नुभएको हो ।

आफूले गरेको कल्पना पूरा हुने भएकाले नाम ‘कल्पेश्वर महादेव’ राखिएको उहाँले बताउनुभयो ।

आफूकहाँ उपचारका लागि आउने भक्तजनसँग गक्षेअनुसार स्वेच्छाले मूर्ति स्थापनाका लागि सहयोग गरिदिन आग्रह गरेकाले सो रकम सङ्कलन भएको शिवतान्त्रिकले जानकारी दिनुभयो । मूर्ति आगामी नाग पञ्चमीको दिन शिलान्यास गरिने भएको छ ।

ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्न सुडाल कलमसीस्थित ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिका कल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्ष अघि दर्ता भइसकको छ ।

तत्कालीन सुडाल गाविसको वडा नं ८ र ताथली गाविसको वडा नं ४ मा रहेको ८२ रोपनी सार्वजनिक जग्गा मन्दिरको नाउँमा दिइएको तत्कालीन सुडाल गाविस सचिव बद्री नेपालले बताउनुभयो ।

मन्दिरको नाउँमा जग्गाको भोगाधिकार आएकाले सो जग्गामा महादेवको मूर्ति स्थापना गर्नुका साथै बालउद्यान, वनभोजस्थल, पार्कलगायत पूर्वाधार विकास गरी धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने मन्दिर निर्माण समितिका सदस्य हरि नेपालले बताउनुभयो ।

सो स्थानमा कालिका देवीको मन्दिरसमेत रहेको छ । २०६९ सालमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञबाट सङ्कलित रु १३ लाखबाट सो स्थानमा कालिका देवीको मन्दिर निर्माण शुरु गरिएको थियो ।

साथै शिवतान्त्रिकको पहलमा हिमालको आकृतिसहित पोखरीभित्र कालीनागको स्थापना, भजनघर निर्माण र सानो शिव मन्दिरसमेत निर्माण भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!