बिराटनगर ,२५  चैत । प्रदेश नं. १ सरकारले सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन गरेको छ । पहिलो चरणमा छनौट गरिएका १४ जिल्लाका १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

Advertisement

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालनका लागि नर्स छनोट गरी सम्बन्धित विद्यालयमा पठाएको जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सञ्चालनमा ल्याइएको कार्यक्रमका लागि १४ जना नर्स छनौट गरी १ चैतबाट विद्यालयहरुमा पठाइएको मन्त्रालयको सामाजिक नर्सिङ शाखा प्रमुख केसु काफ्लेले जानकारी दिइन् । ‘चालु आर्थिक वर्षमा १४ वटा विद्यालयमा यो कार्यक्रम लागु गरिए पनि आगामी आर्थिक वर्षबाट अन्य सरकारी विद्यालयमा समेत लागु गर्दै लैजाने मन्त्रालयको योजना छ,’ उनले भनिन् ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका खुवाउनुका साथै स्वास्थ्यप्रति उत्प्रेरित गर्दै सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको हो ।

आर्थिक वर्षको शुरुवातदेखि नै कार्यक्रम सञ्चालन गर्ने योजना रहेपनि विद्यालय छनौट र नर्स छनौटको प्रकृयामा नटुंगिदा कार्यक्रम कार्यान्वयनमा ढिलाई भइरहेको छ ।

मन्त्रालयले विद्यालय नर्सिङ कार्यक्रमका लागि यो आर्थिक वर्षमा नर्सको तलवका लागि ४९ लाख रुपैयाँ विनियोजन गरेको छ । औषधि उपकरण खरिदका लागि पनि छुट्टै बजेट बिनियोजन गरिएको काफ्लेले जानकारी दिइन् ।

किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो । मन्त्रालयले विद्यालय नर्स मार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी परामर्श दिइने छ ।

‘हरेक विद्यालयमा नर्स राख्दा त्यसको दीर्घकालीन फाइदा हुने भएकाले पोषण, किशोर किशोरीको प्रजनन स्वास्थ्यबारे जानकारी हुनुका साथै अभिभावकलाई पनि सचेत गराउन सकिन्छ,’ काफ्लेले भनिन् ।

कार्यक्रमअन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी परामर्श सेवा प्रदान गरिने लक्ष्य लिइएको छ ।

यसैगरी, स्वास्थ्य सम्बन्धी ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाइ निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा पनि प्रदान गरिनेछ ।

सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वास्थ्यबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक-बालबालिकाको स्वास्थ्य र स्वास्थ्य ज्ञडका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्नेछन् । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!