चितवन, २१ चैत । माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो ।नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ ।

Advertisement

दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो । हरेक दिन छ हजार लिटर हाराहारी दूध सङ्कलन हुने गर्दछ । ढकालले कृषकलाई उत्प्रेरित गर्दै दैनिक १० हजार लिटर दूध पुयाउने लक्ष्य रहेको बताउनुभयो ।माडीमा साना ठूला गरी १७२ कृषि फार्म दर्ता भएका छन् । घरमा गाई भैँसी पालेर सहकारीलाई दूध बिक्री गर्ने कृषकको सङ्ख्या एक हजारभन्दा बढी रहेको उहाँले बताउनुभयो ।

उन्नत जातका गाई भैँसी पाल्न ब्याज सहुलियत : माडी नगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने कृषकलाई चार प्रतिशतमा ऋण प्रवाह शुरु गरेको छ । स्थानीय चार सहकारीसँग सम्झौता गरी अपुग रकम नगरपालिकाले भुक्तानी गर्ने भएको छ । ढकालका अनुसार सहकारीले नौ प्रतिशतमा कृषकलाई ऋण प्रवाह गर्दछ । कृषकले चार प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत सहकारीलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।

शुरुमा एक जना कृषकलाई रु पाँच लाखसम्म यस्तो ऋण सहजरुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उन्नत जातका गाई, बाख्रा पाल्न चाहने कृषकलाई ऋण थप्न सकिने ढकालले बताउनुभयो ।ठूला कृषकका लागि ब्याज छुटमा ऋण प्रवाह गर्न स्थानीय कृषि विकास बैंकसँग समन्वयकारी भूमिका नगरपालिकाले गरेको उहाँले बताउनुभयो । कृषि ऋणमा बैंकले छुट दिने भए पनि साना किसानले पहुँच पुयाउन कठिन हुने भएकाले नगरपालिकाले सहकारीसँग समन्वय गरेको हो ।

कृषि बीमामा २० प्रतिशत योगदान : सो नगरपालिकाले कृषि बीमा गर्दा कृषकलाई २० प्रतिशत अनुदान दिन शुरु गरेको छ । कृषि बीमामा ७५ प्रतिशत सरकारले अनुदान दिँदै आएको छ । बाँकी २५ प्रतिशतमा २० प्रतिशत नगरपालिका र पाँच प्रतिशत कृषकले ब्यहोर्ने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले बताउनुभयो । यसबाट कृषि क्षेत्रमा हुनसक्ने जोखिमबाट कृषक पूर्णरुपमा सुरक्षित हुने उहाँले बताउनुभयो ।

माछा पोखरीमा अनुदान : उक्त नगरपालिकाले माछा पोखरी खन्न प्रतिकठ्ठा रु १० हजार अनुदान दिन शुरु गरेको छ । माडी माछाको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माडीलाई मत्स्य जोन बनाउने उद्देश्यका साथ पोखरी खन्ने कृषकलाई उत्प्रेरित गर्न अनुदान दिन शुरु गरिएको नगर प्रमुख ढकालले बताउनुभयो ।

माडीमा कृषकको अन्न बाली वन्यजन्तुले नोक्सान गर्दै आएको छ । माछामा त्यस्तो प्रभाव नहुने हुँदा नगरपालिकाले कृषकलाई माछापालनतर्फ केन्द्रित गर्ने योजना बनाएको छ । ढकालले माडीलाई मत्स्य जोन बनाउने, उन्नत जातका पशु पालन गर्ने र तरकारी उत्पादनमा जोड दिइने बताउनुभयो । निकुञ्जपारिको बस्तीका रुपमा परिचित माडीमा ४३ हजार जनसङ्ख्या छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!