पूर्वपत्रकार तथा साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र नेपाली फिल्मका कलाकार हुन् भन्ने निकै कमलाई थाहा हुनसक्छ । उनले पत्रकारितामा सक्रिय रहँदा सन् २०१२ मा प्रदर्शनमा आएको दीपक रौनियार निर्देशित फिल्म ‘हाइवे’ मा अभिनय गरेका थिए । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका थियो । दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्यलगायतका कलाकारहरु फिल्ममा प्रमुख भूमिकामा थिए ।

Advertisement

यो फिल्म बक्सअफिसमा असफल भएपछि रविन्द्रले दोस्रो फिल्म गर्ने आँट जुटाउन सकेनन् । तर, उनलाई फिल्ममा अभिनय गर्ने हुटहुटी भने अझै छ । उनी पुनः फिल्ममा ढिलो-चाँडो फर्किने सोचमा पनि छन् । आइतबार साझा पार्टीका सदस्य तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी अभिनीत फिल्म ‘शुभ लभ’ हेरेपछि उनले संवाददातासँग संक्षिप्त कुराकानी गर्दै आफूमा फिल्म गर्ने रहर अझै रहेको बताए ।

उनले भने- ‘राजनीतिबाट ‘रिटायर्डमेन्ट’ लिएपछि फिल्म गर्ने मेरो जुन प्रवल रहर छ त्यो पूरा गर्छु । मलाई असाध्धै चित्त बुझेको भूमिकामा कुनै फिल्ममा अवश्य देखिन्छु ।’ उनले हरिहरको फिल्म ‘शुभ लभ’ को पनि तारिफ गरे । ‘हेरुन्जेल रमाइलो लाग्यो । कथावस्तु फरक छ’, उनले अगाडि भने- ‘हरिहरजीको काम पनि निकै राम्रो लाग्यो । ज्योतिष क्षेत्रसँगै फिल्म क्षेत्रमा पनि उहाँले उत्कृष्टता हासिल गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

आइतबार कमलपोखरीमा रहेको कुमारी हलमा फिल्म हेर्न पुगेका गायक प्रमोद खरेलले पनि हरिहरको अभिनयको प्रशंसा गरे । उनले भने- ‘समग्रमा फिल्म हेर्न लायक छ । पहिलो फिल्ममा हरिहरजीले राम्रो काम गर्नुभएको छ । उहाँको फिल्म क्षेत्रमा पनि भविष्य उज्ज्वल देखेँ ।’ शुक्रवारबाट प्रदर्शनमा आएको यस फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा हरिहरको अपोजिटमा नव अभिनेत्री क्रिस्टिन छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!