
कञ्चनपुर । उल्टाखामकी किशाेरी निर्मला पन्तकाे बलात्कार तथा हत्या अनुसन्धानमा लापरबाही गरेकाे आरोप लागेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी जिसी आज (सोमबार) बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । यसअघि उनी प्रहरीकाे फरार सूचीमा रहेका थिए ।
अदालतले उपस्थित हुन सूचना निकालेकाे दुई सातापछि जिसी आफै अदालतमा उपस्थित भएका हुन् । गत फागुन २६ गते उनलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरिएकाे थियाे ।
अदालतमा आत्मसमर्पण गरेपछि डिएसपी जिसीकाे बयान लिने क्रम सुरु भएकाे छ । बयान सकिएपछि उनकाे मुद्दामा थुछेक बहस सुरु हुने जनाइएकाे छ ।
डिएसपी जिसीविरुद्ध घटनाकाे अनुसन्धानमा लापरबाही तथा प्रमाण मेटाउन भूमिका खेलेकाे तथा पक्राउ परेकालाई यातना दिएकाे अभियाेगमा मुद्दा दायर गरिएकाे थियाे । उनीसहित ८ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र शंकाष्पद अभियुक्त मानिएका दिलिपसिंह विष्टकाे परिवारले मुद्दा दर्ता गराएका थिए ।
साेही प्रकरणमा मुद्दा खेपेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई आइतबार जिल्ला अदालत कञ्चनपुरले १० लाख धराैटीमा छाड्न आदेश दिइसकेकाे छ । उनलाई यातनाविरुद्धको मुद्दामा साढे ४ लाख र अनुसन्धानमा लापरबाही मुद्दामा ६ लाख धरौटी गरी कुल १० लाख धराैटी बुझाउन भनिएकाे हाे ।
जिल्ला अदालत कञ्चनपुरमा साेही प्रकरणमा ८ जना प्रहरी विरुद्ध मुद्दा दायर भएकाेमा ६ प्रहरीलाई यसअघि नै धरौटीमा रिहा गर्न आदेश र एसपी विष्टलाई आइतबार आदेश दिइसकिएकाे छ ।











