
काठमाडाैँ । सन्दीप लामिछाने आबद्ध टोली दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सुखद शुरुवात गरेको छ । पहिलो खेलमा सहज जित हात पारेको छ ।
दिल्लीले आइतबार भएको खेलमा मुम्बई ईन्डियन्सलाई ३७ रनले पराजित गरेको हो । दिल्लीले जितका लागि दिएको २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर मुम्बईले १९ ओभर २ बलमा अल आउट हुँदै १ सय ७६ रन बनाउन सक्यो ।
मुम्बईका लागि युवराज सिंहले अर्धशतकीय पारी खेले । त्यस्तै कुनाल पाण्डेले ३३ रन, कोइन्टोन डी ककले २७ रन, किरोन पोलर्डले २१ रन तथा रोहित शर्माले १४ रन बनाएका थिए । बलिङतर्फ दिल्लीका इशान्त शर्मा र कागिसो रबडाले दुई दुई विकेट र ट्रेन्ट बोल्ट, केको पल र अक्षर पटेलले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले नटआउट ७८ रन बनाउन सफल भए । यस्तै कोलिन इन्ग्रामले ४७ रन र शिखर धवनले ४३ रन बनाए ।
बलिङतर्फ मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए । नेपाली स्पीनर सन्दीप भने पहिलो खेलमा दिल्लीको टोलीमा पर्न सकेनन् ।















