काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्तालगायत कार्यका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

Advertisement

आगामी असार १४ गते प्रदेश नं– १, २, ५ र ७ मा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले बदलिँदो राजनीतिक परिस्थितिलाईसमेत ध्यान दिई सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको लागि सुरक्षा रणनीति तथा पूरक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाइएको छ ।” उहाँले सो अवसरमा सुुरक्षा निकायको तर्फबाट निर्वाचनमा सुरक्षा व्यवस्थालाई मजवुत बनाउनका लागि आ–आफ्नो निकायबाट तयार पारिएको सुरक्षा व्यवस्था, खटाइएको जनशक्ति तथा चालिने सुरक्षा रणनीतिबारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

आयोगका सचिव गोपीनाथ मैनाली, रक्षा सचिव श्रीधर सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका वलाधिकृत रथी बलदेवराज महतको सहभागिता रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!