बीबीसी । मुम्बई  विमानस्थलमा एउटा जीवित मानव भ्रूण पक्राउ परेपछि भारतले सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान शुरू गरेको छ। मार्च १६ मा एक मलेसियाली नागरिकले सुटकेसमा एक बट्टामा लुकाएर ल्याएको मानव भ्रूण फेला परेको बताइएको छ।

Advertisement

पक्राउ परेको हवाई यात्रुले भारतमा पहिलो पटक मानव भ्रूण तस्करी गरेको बताउदैँ मुम्बईकै एक महँगो टेस्टट्युब क्लिनिकका लागि ल्याइदिएको बताएका थिए। तर उक्त क्लिनिकले आफूलाई फँसाउने प्रयास भन्दै सो तस्करीमा आफ्नो संलग्नता नरहेको बताएको छ।

सोमबार उनलाई मुम्बई उच्च अदालतमा पेश गर्दा डाइरेक्टरेट अफ रिभेन्यु इन्टिलिजेन्सका रेबेका गोन्सालेसले पक्राउ परेको व्यक्तिले सोही क्लिनिकका भ्रूण ल्याइदिएको दाबी गरेकी छन्।

टाइम्स अफ इन्डियाका अनुसार पक्राउ परेको मलेसियाली नागरिकको मोबाइलमा रहेका सन्देशहरूले उनको दाबीलाई प्रमाणित गर्ने खालका छन्।

क्लिनिककी सञ्चालक डा. गोराल गान्धीले सो कुरालाई गलत भनेकी छन्।

गान्धीका वकिल सुजोय काँटावालाले अदालतलाई भने: “क्लिनिकले आफ्नो व्यवसायका लागि मानव भ्रूण आयात गर्दैन।”

इन्डियन एक्सप्रेस समाचार पत्रका अनुसार क्लिनिकले आफ्नो प्रतिस्पर्धामा रहेका व्यवसायले षडयन्त्र गरेको बताएको छ।

अदालतले गान्धीलाई शुक्रवार आफै उपस्थित हुन निर्देशन दिएको छ।

भारतमा हालका दिनमा प्रसिद्ध भएको टेस्ट ट्युब प्रविधिमा पुरुष शुक्रकीट र महिला डिम्बबाट प्रयोगशालामा भ्रूण निर्माण गरि पाठेघरमा प्रत्यारोपण गरि गर्भाधान गराइन्छ।

अन्य व्यक्तिको शुक्रकीट वा डिम्बको प्रयोग गरेर पनि निर्माण गर्न सकिने मानव भ्रूणलाई वर्षौसम्म राख्न पनि सकिन्छ।

तर भारतमा मानव भ्रूण आयात गर्नु गैरकानुनी कार्य हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!