काठमाडौँ, २ चैत । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई ३–० गोलले पाखा लगाएसँगै पाँचौं संस्करणमा चौथो पटक नेपाल फाइनलमा पुगेको हो ।
शनिबार (आज) विराटनगरस्थित शहीद रंगशालामा आत्मघाती गोलबाट खेलमा नेपालले अग्रता लिएको थियो । नेपालका लागि सावित्रा भण्डारी र अञ्जली कुमारी योञ्जनले एक एक गोल गर्न सफल बने । मसुरा प्रविनले पाँचौं मिनेटमा आत्मघाती गोलका कारण नेपालले शुरुवाती अग्रता लिएको थियो ।
खेलको २१ औं मिनेटमा सावित्रा भण्डारीले बंगलादेशको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्दा नेपालले २–० को अग्रता लिएको थियो । त्यस्तै खेलको २८औं मिनेटमा सावित्राकै पासमा अञ्जलीले गोल गर्दै नेपाललाई पहिलो हाफअघि ३–० को अग्रता दिलाइन् ।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि आफ्नो आक्रमणलाई जारी नै राख्यो । तर गोल गर्न भने दुवै टिमले सकेनन् ।
यसै कारण समूह ‘ए’ बाट विजेताका रुपमा नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को तर्फ हारपछि पनि बंगलादेश उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । प्रतियोगितामा भोली भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।