काठमाडौँ, ३० फागुन । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार नवलपरासी र मकवानपुरमा ट्रकमा तोडफोड भएको छ । नवलपरासी, रौतहट, सिन्धुपाल्चोक र कास्कीमा शङ्कास्पद वस्तु फेला परे पनि अप्रिय घटना भएको छैन । उहाँले देशभर नै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै निर्वाधरुपमा सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो ।

राजमार्गमा स्कटिङ गरेर सवारी चलाइएको र तराईका केही ठूला शहरमा आंशिक प्रभाव देखिएको र उपत्यकामा गाडी चलिरहेको सुवेदीले बताउनुभयो । यद्यपि बाहिरी जिल्लाबाट गाडी नआउँदा उपत्यकामा समेत सवारीको चाप कम देखिएको छ । केही जिल्लामा भने बढी प्रभाव परेको छ । सार्वजनिक सवारी कमैमात्र चलेका छन् । ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले उपत्यकाको तीनै जिल्लामा अहिलेसम्म शान्ति सुरक्षामा कुनै असर नपरेको बताउनुभयो । “उपत्यका शान्त छ, अहिलेसम्म तीनै जिल्लामा कुनै घटना भएको छैन, निर्वाधरुपमा सवारी चलेका छन्, जिल्लाबाटै लामो दूरीका गाडी नआएकाले भित्रिने र बाहिरिने सङ्ख्या कम छ”, क्षेत्रीले भन्नुभयो ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौँको सवारीसाधन आवागनमा कुनै समस्या नरहेको तर त्रासका कारण स्कूल, क्याम्पस भने प्रभावित भएको जानकारी दिनुभयो । बुधबार राति अनामनगरमा भेटिएको शङ्कास्पद वस्तु नक्कली बम रहेको भन्दै तर्साउनका लागि राखिएको उल्लेख गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!