
काठमाडौँ, २९ फागुन । कञ्चनपुर जिल्ला अदालतले निर्मला हत्या प्रकरण अनुसन्धानमा लापरवाही गर्ने दुई प्रहरी अधिकृत तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा ३५ दिने वारेन्ट जारी गरेको छ ।
बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्त हत्या अनुशन्धानका क्रममा प्रमाण नष्ट गरेकाे भनी निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएकाे थियो। मुद्दाका अाधारमा अदालतले एसपी बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो।
मुद्दा परेका ८ जनामध्ये ६ प्रहरी डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदले अदालतमा उपस्थित भएर बयान दिएका छन् । तर एसपी बिष्ट र डिएसपी जिसी अदालतमा उपस्थित भएका छैनन् ।
अदालतमा अनुपस्थित एसपी बिष्ट र डिएसपी जिसी अझै सम्म सम्पर्कबिहिन रहेका छन् साेही कारण अदालतले उनीहरुबिरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरेकाे हो ।
प्रमाण नष्ट गरेको अभियोगमा फौजदारी अपराध संहिताअनुसार परेको मुद्दा उपर न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलाशले गत बिहीवार मुद्दालाई अघि बढाउने आदेश दिएको थियाे ।उक्त आदेश पछि मुद्दामा मुछिएका प्रहरीहरु उपर बयान लिन शुरु गरिएको हो ।
यसअघि प्रमाण नष्ट गरेको आरोपमा एसपी बिष्टलाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिसकिएको छ।
प्रतिक्रिया दिनुहोस्















