खलङ्गा, २८ फागुन । यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् ।

Advertisement

जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो ।

भोगौलिक हिसाबले दुर्गम भएका कारण सरकार र दाताको नजर विद्यालयसम्म पर्न नसकेको उहाँको भनाइ छ । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घरजाने गरेको रोकायाले बताउनुभयो ।

विद्यार्थीले बोतलमा बोकेर ल्याएको पानी नपुग्ने भएका कारण आधा पढेर विद्यार्थी घर जाने गरेका छन् । विद्यालयमा खाजा खाने समयमा बेला कोहीले नजिकका गाउँ पसेर पानी मागेर पिउने गरेका छन् । यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठूलो समस्या देखिएको छ ।

खानेपानी नभएकै कारण शान्तिजन आधारभूत विद्यालय काँडागाउँमा विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेको प्रध्यानाध्यापक रोकायाले बताउनुभयो । गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि गर्मीको बेला अपुग हुने गर्दछ । विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रयास गरे पनि अहिलेसम्म व्यवस्था गर्न नसकिएको प्रध्यानाध्यापक रोकायाले बताउनुभयो ।

विद्यालयमा सफा खानेपानी नहुँदा विद्यार्थीको सरसफाइ र दिवा खाजामा प्रभाव परेको छ । पानी अभावले गर्दा विद्यालयमा भएका दुई शौचालय पनि प्रयोगविहीन भएका छन् । सानो आधारभूत विद्यालय भए पनि छात्राछात्रको शौचालयको छुट्टाछट्टै रुपमा निर्माण गरिएको छ । अभिभावकका मनमुटावका कारण विद्यालयमा खानेपानी पुर्याउन नसकिएको विद्यालय स्रोतले जनाएको छ ।

विद्यालयमा भएका डेक्स, बेञ्च पनि जीर्ण अवस्थामा छन् । गर्मीको समयमा पानीको हाहाकार हुने गरेको छ । प्रध्यानाध्यापक रोकायाले तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकैको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउँदै पानी खान गएका विद्यार्थी कक्षामा ढिलो आउने गरेकाले पुन कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

अत्याधिक वन फँडानी र वनजङ्गलको संरक्षण नहुँदा उक्त क्षेत्रमा खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलानालाको पानी उपभोग गर्ने गरेका छन् । मुहान सुक्न थालेपछि त्यस क्षेत्रका विद्यालय तथा बासिन्दालाई खानेपानीको समस्या वर्षेनी बढ्दै गएको छ ।

बस्ती नजिकका मुहान सुकेको र टाढाका मुहानबाट पानी ल्याउन नसकिएकाले यहाँका बासिन्दालाई खाना पकाउन, सरसफाइ गर्न र बस्तुभाउलाई खुवाउन पनि समस्या हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!