रुपन्देही, २७ फागुन । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रोजगारदाता र श्रमिकबीच सन्तुलन पैदा गर्ने धारणा राख्नुभयो ।
उद्योगी–व्यवसायीको जोखिम अन्त्य गर्न राज्यले योजना ल्याएकाले योजना कार्यान्वयनमा साथ दिन उहाँले आग्रह गर्नुभयो । “सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ”, उहाँले भन्नुभयो, “श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ ।” रोजगारीका लागि विदेशिने युवालाई रोक्न सुरक्षा योजना महत्वपूर्ण हुने मन्त्री विष्टको विश्वास छ । “श्रम बजार श्रमिकबीचको जटिलता अन्त्य गर्न समयमै पहल नभए देश जटिलतातिर जान्छ”, उहाँले भन्नुभयो, “श्रमशक्तिको अभावमा बेहोर्नुपर्ने सङ्टकको समाधानका लागि ध्यान दिन जरुरी छ ।”
सामाजिक सुरक्षा योजना देशका लागि नौलो विषय भए पनि यसको कार्यान्वयनपछि उद्योगी, व्यवसायी र श्रमिकमा खुशी छाउने मन्त्री विष्टले विश्वास व्यक्त गर्नुभयो । उद्योगीका कठिनाइलाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै उहाँले उदार बनेर मजदूरको जीवनस्तर उकास्न सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मजदूरको पीडाले उद्योगीलाई पनि पीडा हुन्छ, उनीहरुको मुहारमा खुशी छाउँदा उद्योगीको मुहारमा पनि खुशी छाउँछ ।” उहाँले सञ्चार संस्था, अस्पताललगायत सबै संस्थान र प्रतिष्ठानमा सो योजना लागू हुने बताउनुभयो ।
प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अहिलेको मुख्य समस्या बेरोजगारी घटाउनु भएकाले सामाजिक सुरक्षा योजना कार्यान्वयन जरुरी रहेको बताउनुभयो । उमेर छँदासम्म विदेशमै पसिना बगाउने, उमेर गएपछि स्वदेश फर्किंदा केही गर्न नसक्ने अवस्था हुने उहाँको भनाइ थियो ।
सामाजिक सुरक्षा योजनाबारे जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव महेशप्रसाद दहालले सामाजिक सुरक्षा योजना सबैको हितमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योजना राम्रो छ, तर कार्यान्वयनका लागि सबैको सहयोग चाहिन्छ ।” योजना आगामी साउन १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने उहाँले जानकारी गराउनुभयो ।
सचिव दहालले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा र वृद्धावस्था सुरक्षाको सुविधा उपलब्ध गराइने जानकारी गराउनुभयो ।
योगदानमा आधारित ‘सामाजिक सुरक्षा योजनाको अवस्था र कार्यान्वयका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण भएको बताउनुभयो ।
योजनामा सहभागी श्रमिकले रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत प्राप्त गर्ने उहाँले बताउनुभयो । “सुविधाका लागि श्रमिकले आधारभूत पारिश्रमिकको ११ र रोजगारदाताले २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ”, अधिकारीले भन्नुभयो ।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले सामाजिक सुरक्षा योजना सम्बन्धमा उद्योगी–व्यवसायीको बुझाइ स्पष्ट पार्न कार्यक्रम गरिएको बताउनुभयो ।