गाईघाट, २२ फागुन । कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो रु ५०० भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् ।

Advertisement

उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका कृषकले उत्पादन गर्दै आएको अलैँचीले यस वर्ष उचित मूल्य पाउन नसकेपछि अहिले आफूहरु निराश हुनुपरेको स्वयं कृषक बताउँछन् ।

रौता–५ आँपटारका अलैँची उत्पादक कृषक टेकबहादुर मगरले आफ्नो अलैँचीले उचित मूल्य नपाएको बताउनुभयो । “पहिलापहिला अलैँचीको मूल्य राम्रो भएकाले आर्थिक आम्दानीका लागि व्यावसायिकरूपमा अलैँची खेतीमा लागियो, हिउँद, वर्षा, दुःख ऋणपान गरेर अलैँची फलाइयो, मङ्सिरदेखि अलैँचीको मूल्य पर्खेर बसियो पनि, अहिले मूल्य घटेर रु ५०० प्रतिकिलो भयो, अब आफूहरु निराश हुनुबाहेक अरु केही रहेन”, उहाँले भन्नुभयो ।

अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा लगानीसमेत नउठ्ने र अलैँचीबारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने तावाश्रीका कृषक सुकमान तामाङको गुनासो छ । तामाङ भन्नुहुन्छ, “बरु मङ्सिर, पुससम्म रु दुई हजार प्रतिकिलो मूल्य थियो, अहिले त झनै अलैँची व्यापारीले रु ५०० प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नुभन्दा आगोमा डढाएर मन बाँध्नुबाहेक अरु विकल्प छैन ।”

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर, इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरेपछि कृषक मारमा परेका हुन् ।

उदयपुर गढी डुम्रेका अलैँची उत्पादक कृषक डम्बरबहादुर मगर भन्नुहुन्छ, “पहिलापहिला अलैँची प्रतिकिलो मूल्य रु चार हजारसम्ममा बिक्री हुने भनेको सुनेर पनि हौसिएर यो खेतीमा लागियो, तर दुई वर्षदेखि अलैँची उत्पादन गरेर बिक्री गर्दा मूल्यनै नपाइएपछि बेकारमा यो खेतीमा लागिएछ भन्ने अहिले आफूलाई पछुतो लाग्न थालेको छ ।”

पहिलापहिला अलैँची उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिकरूपमा अलैँची खेतीमा लागे पनि वर्षेनी अलैँचीको मूल्य घट्ने गरेको र अलैँची खरीदकर्ताले मूल्यनै दिन छाडेपछि अहिले उदयपुरका अलैँची उत्पादक कृषक निराश बन्दै जान थालेका हुन् ।

गाईघाटका अलैँची खरीदकर्ता सुरेश साहका अनुसार नेपालका धेरै अलैँची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि आफूहरुले खरीद गरेको अलैँचीको उचित मूल्य हाल्न छाडेपछि आफूहरुले पनि अलैँचीको मूल्य कृषकको मागअनुसार दिन नसक्ने बताउनुभयो ।

अन्य पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, पाँचथर र इलामका कृषकको अलैँची खेती र बिक्रीबाट आर्थिक आम्दानी भएको सुनेर र देखेर प्रभावित हुँदै दश वर्षदेखि उदयपुरका पहाडी क्षेत्रका कृषकले वर्षेनी व्यापकरूपमा अलैँची खेती वृद्धि गर्दै आएका छन् । कृषकले दुःख गरेर उत्पादन गरेको अलैँचीको मूल्य व्यापारीले निर्धारण गर्ने र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा आफूहरु मारमा परेको कृषकहरूको गुनासो छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!