गौशाला। महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ ।

साविकको मटिहानी गाविस–२ तथा हाल मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि दाता जैनपुरीले रु ३० लाख मूल्य पर्ने सात कट्ठा जग्गा दान गर्नुभएको हो ।

सोमबार मटिहानीस्थित राम उच्च माविमा आयोजित जग्गा हस्तान्तरण कार्यक्रममा दाता रामप्रसाद गुप्ता जैनपुरीले प्रतिकट्ठा रु साढे चारलाख मूल्य रहेको सात कट्ठा जग्गाको लालपुर्जा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नागेन्द्र यादवलाई स्वास्थ्यचौकी भवन निर्माणका लागि हस्तान्तरण गर्नुभएको हो ।

मटिहानीमा स्वास्थ्यचौकी भवन निर्माणका लागि लाखौँको जग्गादान गर्ने दाता जैनपुरीलाई जग्गा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दोसल्ला र माला लगाई सम्मान गर्नुभएको थियो ।

साथै, उहाँले जग्गादाता जैनपुरीको सहयोगका लागि धन्यवाद दिनुहुँदै राष्ट्र निर्माणमा र समाज विकासका लागि सरकारको मात्रै नभएर नागरिकको पनि महत्वपूर्ण भूमिका हुने गरेको बताउनुभयो ।

सोही कार्यक्रमका सभापति तथा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले दाता जैनपुरीले प्रदान गर्नुभएको जग्गामा तत्काल स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु गर्ने घोषणा गर्नुभएको थियो ।

सो कार्यक्रममा मटिहानीका पूर्व गाविस अध्यक्ष रामकुमार मण्डल, उपाध्यक्ष वृजनारायण लाल कर्ण, महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता, पूर्व गाविस सचिव रामजी मण्डल, राम उच्च मावि मटिहानीका प्रधानाध्यापक चन्देश्वर साह, नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्व अध्यक्षद्वय हरिप्रसाद मण्डल र ईश्वरी पौडेललगायतकाले जग्गादाता जैनपुरीको सहयोग सम्पूर्ण मटिहानी गाउँपालिकावासी तथा समाज र देशकै लागि निक्कै महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!