काठमाडौँ, २१ फागुन । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।

Advertisement

अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारेका थिए । वर्ष क्रिकेट खेलाडीको अवार्डसँगै सन्दीपले रु एक लाख ३२ हजार प्राप्त गरेका छन् ।

लामिछाने अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनको अवार्ड कप्तान पारसलाई प्रदान गरिएको थियो । तीन वर्षअघि नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका लामिछानेले आइपिएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल), बिग बास लिग अस्ट्रेलिया, क्यानडाको ग्लोबल टी–२०, अफगानिस्तानको प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिगमा समेत आफ्नो प्रतिभा देखाइसकेका छन् ।

रोहितलाई उदीयमान क्रिकेटरको अवार्ड

कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेल वर्षको उदीयमान क्रिकेट खेलाडी घोषित भएका छन् । अवार्डसँगै रोहितले रु ६६ हजार पुरस्कार पाएका छन् । उदयमान क्रिकेट खेलाडी अवार्ड जित्ने क्रममा रोहितले अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका थिए ।

नवलपरासीका १६ वर्षीय युवा ब्याट्सम्यान रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी हुन् । रोहितले गत महिना युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।

रानामगर वर्ष महिला खेलाडी

कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका सदस्य सीता रानामगर वर्ष महिला क्रिकेट खेलाडी घोषित भइन् । अवार्डसँगै सीताले रु ६६ हजार पुरस्कार प्राप्त गरिन् । वर्ष महिला क्रिकेट खेलाडी जित्ने क्रममा सीताले नेपाली टोलीका कप्तान रुविना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पारिन् ।

‘वर्षको उत्कृष्ट क्षण’को अवार्ड केसीलाई

राष्ट्रिय टोलीका सदस्य करण केसीले वर्षको ‘उत्कृष्ट क्षण अवार्ड’ जितेका छन् । वर्षको उत्कृष्ट क्षण अवार्डसँगै करणले रु ६६ हजार पुरस्कार पाएका छन् । वर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षण मनोनयनमा परेका थिए । अनलाइन भोटमा सर्वाधिक मत प्राप्त गर्दै करणले अवार्डले हात पारे । गत वर्ष नामिबियामा भएको डिभिजन–२ मा क्यानडाविरुद्ध जित दिलाउन करणले उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यही जितले नेपालले एकदिवसीय मान्यता पाएको थियो ।

कार्यक्रममा पूर्वक्रिकेटर कोमलबहादुर पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै पाण्डेलाई अवार्ड प्रदान गरिएको सो अवसरमा जानकारी दिइयो । अवार्डसँगै पाण्डेले रु ६६ हजार पुरस्कार प्राप्त गरे । उत्कृष्ट घोषित खेलाडीलाई प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, वरिष्ठ कलाकार हरिवंश आचार्य, क्रिकेट टोलीका पूर्वकस्तान उत्तम कर्माचार्यलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!