वालिङ, २० फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ ।

मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् ।

बगैँचाका झण्डै ९०० बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । गत शुक्रबार मात्रै बोटबाट सुन्तला बिक्री गरेर सक्नुभएका भण्डारीले सुन्तला बगैँचाबाटै रु ४० देखि ९० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको बताउनुभयो ।

“ प्रायःजसो अन्यत्र सुन्तला बिक्री गरेर सकिएपछि मात्रै म सुन्तला बिक्री गर्न शुरु गर्छु,” सुन्तला व्यवसायी भण्डारीले भन्नुभयो, “पहिला बिक्री गर्दा बजार मूल्य सस्तो हुने भएकाले मैले प्रत्येक वर्ष ढिलो सुन्तला बिक्री गर्ने गरेको छु ।” भण्डारीले सुन्तला बिक्रीबाट दुई वर्षअगाडि २२ लाख आम्दानी गर्नुभएको थियो । गत वर्ष भने १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको जानकारी दिनुभयो ।

स्याङजा जिल्लामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुने गर्छ । यहाँको सुन्तला विभिन्न जिल्लामा समेत क्रिी हुँदै आएको छ । यस क्षेत्रका गोर्खा, तनहुँ, स्याङजा लगायतका जिल्लाका सुन्तला उपभोक्ताले नीकै रुचाउने गर्छन् ।

“बुबाले ४५ वर्षअघि देखि थाल्नुभएको सुन्तला खेतीलाई हामीले थप गरी व्यावसायिकरुपमा अगाडि बढायौँ,” सुन्तला व्यवसायी भण्डारीले भन्नुभयो, “अहिले हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।”स्थानीय बजारमा मात्रै सुन्तला खपत नहुने भएकाले बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि सुन्तला व्यापारीहरु सुन्तला खरीदका लागि यहाँ आउने गर्छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!