काठमाडौँ, १४ फागुन । चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ ।
आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ देखि १० गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हङ्समण्डपमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागिएको हो ।
दाङ, चितवनलगायत विभिन्न क्षेत्रमा तीन महायज्ञ र दुई बोलबम कार्यक्रम सम्पन गरेको देवघाटधाम संरक्षण प्रतिष्ठानले धातु सङ्कलनका लागि काठमाडौँमा महायज्ञ आयोजना गर्ने तयारी अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा पशुपतिमा हुन लागेको महायज्ञबाट करीब रु पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत रहेको जनाइएको छ । अष्टधातुको शिव मूर्ति निर्माणले धार्मिक पर्यटनको विकाससँगै राष्ट्रको समृद्धिमा सहयोग पुग्ने भएकाले महायज्ञमार्फत धातु सङ्कलन गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “यहाँ बेलपत्र बोकेर आउनुहोस्, घरमा रहेका धातुका भाँडाकुँडा बोकेर आउनुहोस्, पैसा बोक्नु पर्दैन ।”
चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेश, काँच र शिशाबाट शिवको मूर्ति निर्माण हुँदैछ । विगत तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र रु ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, पार्क निर्माण गरिने भएको छ ।
अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको आयोजकले जनाएको छ । रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र रु पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षणक बनाइने आयोजकको भनाइ छ ।
सरकारबाट रु ५० लाख सहयोग भए पनि आर्थिकसँगै धातुको अभाव भएकाले विभन्न ठाउँमा महायज्ञ लगाएर धातुका सामान जोहो गर्न लागिएको प्रतिष्ठनका महासचिव मदनराज मिश्रले जानकारी दिनुभयो । पवित्र तीर्थस्थल देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउन धातुबाट निर्मित शिवको मूर्तिले थप टेवा दिने विश्वास आयोजकको छ ।