भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ ।
मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ ।
१२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।
भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।
स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’