डोटी, ७ फागुन । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् ।

आफ्नो गाउँमा जानका लागि गतवर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महीना पहिला समूहागाढको गेरु पनि नजिक झलङ्गे पुल निर्माण गरिए पनि उक्त पुल उद्घाटन हुन नपाउँदै भत्कियो । पुल बनेपछि ज्यान जोखिमबाट मुक्ति पाइएको आभाष गर्ने उक्त गाउँका स्थानीयवासीको खुशी पुल भत्किएपछि एका एक खोसियो ।

पुल उद्घाटन हुन नपाउँदै भत्किएपछि स्थानीयवासी पहिलेको जस्तै ट्युबको भरमा यात्रा गर्न र सरसामान बोक्न बाध्य भएको बाँफी गाउँका स्थानीयवासी कलीभान साउदले बताउनुभयो ।

सेती नदीमा ज्यान जोखिममा राखेर ट्युबमा यात्रा गर्ने गरेको नजिकैको केआइसिंह राजमार्गमा हिँड्ने नेता तथा मन्त्रीले देखे पनि उनीहरूको बारेमा कसैले नबोलेको स्थानीयवासीको आरोप छ । सेती नदीमा जोखिम मोलेर यात्रा गर्दा अहिलेसम्म दर्जनौले ज्यान गुमाइसकेको स्मरण आफूसँग अझै ताजै रहेको अर्का स्थानीय महानन्द साउदले बताउनुभयो ।

साउदको बढी जनसङ्ख्या भएको उक्त गाउँमा करीब दुई सय घरधुरी रहेका छन् । उक्त गाउँका स्थानीयवासीले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउँको बजारमा आउनुपर्छ । उक्त बजारमा आउनका लागि स्थानीय महिला, केटाकेटी लगायतकाले ट्युबको भरमा यात्रा गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

पुल नहुँदा बाँफी गाउँका स्थानीयलाई निकै समस्या भएको शिखर नगरपालिका– १ कालागाढका स्थानीयवासी चेत बोगटीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!