काठमाडौँ, ७ फागुन । थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

Advertisement

टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै एक सय २६ रनको स्कोर खडा गरेको थियो । प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् । उनले पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई बलियो प्लेटर्फम बनाउन सफल भइन् । काजलले २९ बलमा ३ चौकासहित १६ रन बनाएर आउट भइन् ।

मध्यक्रममा आएकी कप्तान रुबिना चौधरीले आक्रामक पारी खेल्दै २५ बलमा अविजित ३३ रन बनाउँदै नेपालको इनिङ उकासिन् । उनको इनिङमा पनि ३ चौका सामेल थिए । यसैगरी इन्दु बर्माले १४ बलमा १३ रन बनाइन् । भेट्रान नेरी थापा १३ बलमा ६ रन बनाएर रनआउट भइन् ।

मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १-१ विकेट बाँडेका थिए । यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २-२ विकेट बाँडेका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १-१ विकेट बाँडे ।

मलेसियाका लागि क्रिस्टिना बारेले सर्वाधिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!