काठमाडौँ, २ फागुन । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेन ।

Advertisement

बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटको विषयमा भने निर्णय गरेको छ । राखेपका अनुसार उक्त बैठकले यही फागुन ३ देखि १७ गतेसम्म प्रदेश छनोटको आयोजना गर्ने निर्णय गरेको थियो । प्रदेश नं १ को विराटनगरमा फागुन ७ गते, प्रदेश नं २ को वीरगन्जमा फागुन ५ गते, प्रदेश नं ३ को चितवनमा फागुन ६ गते, गण्डकी प्रदेशको पोखरामा फागुन ४ गते, प्रदेश नं ५ को बाँकेमा फागुन ११ गते, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १३ गते र सुदूरपश्चिको धनगढीमा फागुन ३ गते प्रदेश छनोटको उद्घाटन हुने कार्यक्रमको तय भएको छ ।

प्रतियोगिताको उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको ‘भिआइपी’तर्फको प्यारापिट बन्ने समयको अझै टुङ्गो नलागेकाले प्रतियोगिताको मिति तय हुन नसकेको जानकारी दिइएको छ तर, खेल क्षेत्रका विज्ञहरु यो मान्न तयार छैनन् । राखेप पदाधिकारीबीचको टकराउका कारण प्रतियोगिताको मिति घोषणा हुन नसेकेको विज्ञहरुको भनाइ छ ।

राखपेका पूर्व अध्यक्ष युवराज लामाले पूर्वाधार तयारीको कुरा एकातिर भए पनि केही भित्री कारणले प्रतियोगिताको मिति घोषणा हुन नसकेको जिकिर गर्नुभयो । उहाँका अनुसार यही फागुन महिनाभित्र प्रतियोगिता नगरे चैतदेखि नेपालगन्जमा गर्मी बढ्ने र प्रतियोगिता गर्न नसकिने उहाँको तर्क छ । उहाँले भन्नुभयो “नेपालगन्ज नेपालकै धेरै गर्मी हुने ठाउँ हो, त्यसैले चैतदेखि असारसम्म प्रतियोगिता गर्नसक्ने अवस्थै हुँदैन, फागुनभित्रै गर्न सकिएन भने खेल हुनुको कुनै औचित्य छैन ।”

राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले यसबारे प्रतिक्रिया दिन मान्नुभएन । उहाँले रासससँग भन्नुभयो, “राखेपको कार्यकारी व्यक्ति सदस्य सचिवज्यू हुनुहुन्छ, यसबारे उहाँलाई नै थाहा छ, उहाँसँगै सोध्नुस्, म यसबारे बोल्न चाहन्नँ ।”

गत मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै पटकपटक गरी तीन पटक मिति सरिसकेको छ ।

गत असोज महिनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको थियो । तर, माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारियो ।

नयाँ मिति सार्ने विषयमा किन सहमति नभएको होला भन्ने प्रश्नमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले भन्नुभयो, “जिल्ला छनोट भइसक्यो, प्रदेशको तालिका पारित भइसक्यो, बजेट पास भएको अवस्था छ, हामी सबै एक ढिक्का छौँ, यसबारे चाँडै निर्णयमा पुग्छौँ ।”

सदस्य सचिव विष्टले प्रतियोगिताका लागि बन्दै गरेका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउँदै आठौँ राष्ट्रिय खेलकुदका लागि बनेका भौतिक पूर्वाधार यसअघिका प्रतियोगितामा जस्तो कमजोर नहुने दाबी गर्नुभयो । “अघिल्ला प्रतियोगिताहरुमा समयमै बजेट नआउने र हतारमा जसरी पनि काम सिध्याउने मानसिकताले काम गरेको थियो । तर, यसपटक हामीले सातौँ खेलकूदप्रतियोगिता सकिए लगत्तै आठौँको तयारी शुरु गरेका थियौँ, भौतिक पूर्वाधार दिगो र बलियो बन्नेछ जसले भविष्यमा स्थानीयस्तरका खेल गतिविधिका लागि सजिलो हुनेछ” सदस्य सचिव विष्टले भन्नुभयो ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समयमै हुन नसक्नु तथा र दशरथ रङ्गशाला लगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमै हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद(साग) समेत प्रभावित भइसकेको छ ।

विसं २०३८ देखि शुरु भएको राष्ट्रिय खेलकूद नियमित हुनसकेको छैन । घरेलु राजनीति र खेलकूदभित्रको दाउपेचको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव राष्ट्रिय खेलकूद प्रतियोगितामा पर्दै आएको छ । यतिबेला २० औँ संस्करणको तयारी शुरु हुनुपर्ने हो, तर वर्तमान नेपाली खेलकूद आठौँको अनिश्चयको भुमरीमा फसेको छ ।

घरेलु खेलकूदको ओलम्पिक मानिने राष्ट्रिय खेलकूदको आठौँ संस्करण कहिले शुरु हुने टुङ्गो छैन, तर सदस्य सचिव विष्ट निर्धारित मितिमै प्रतियोगिता हुन्छ भन्न छाड्नुभएको छैन, त्यो निर्धारित मिति कहिले हो भन्ने टुङ्गो लागेको छैन ।

“आगामी असारमा चार वर्षे कार्यकाल पूरा गरेर राखेपबाट बिदा हुँदै गर्दा सदस्य सचिव विष्ट आफ्नो कार्यकालमा नियमित राष्ट्रिय प्रतियोगिता गराएरै छोड्ने मनस्थितिमा हुनुहुन्छ तर, अन्य व्यक्तित्व उहाँको कार्यकालमा प्रतियोगिता विभिन्न बहानामा सार्ने प्रयत्नमा हुनुहुन्छ”, राखेपका एक उच्च अधिकारीले भन्नुभयो ।

आठौँको नयाँ मितिको विषयमा राखेप भित्रबाटै फरक मत बाहिर आएका छन् । सदस्य सचिव फागुनभित्र प्रतियोगिता हुने अठोट व्यक्त गुर्नहुन्छ, राखेपका उपाध्यक्षले पुर्वाधारको अवस्था हेर्दा यस वर्ष प्रतियोगिता गर्न नसकिने राय दिनुले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा राजनीति छिरेको बुझ्न कठिन हुँदैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!