महेन्द्रनगर (धनुषा) । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य दलहरुमा प्रमुखका आकाङ्क्षी बढी देखिए पनि पार्टीले अझैसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

Advertisement

यता राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएको छ । अर्कोतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने उम्मेदवार छान्ने कसरतमा लागे पनि आकाङ्क्षी बढी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

यसैबीच, नेका धनुषाले उम्मेदवारको आज आइतबार टुङ्गो लगाउने बताएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनका लागि देखिएको विवादको कारणले गर्दा नेकामा उम्मेदवारको टुङ्गो लगाउन सकिएको छैन ।

नेकाले जनकपुर उपमहानगरपालिकाका लागि नगर सभापतिमा मनोज साहलाई उम्मेदवार बनाउने लगभग पक्का जस्तै भएको छ । यद्यपि करिब १४ जनाभन्दा माथिको नाउँ उम्मेदवारको लागि सिफारिस गरिएको छ । नगर समितिले क्षेत्र समितिमा उम्मेदवारको नामावली पठाउने, त्यहाँ सहमति खोजिनेछ । सहमति नभएमा जिल्ला कमिटीमा नाम पठाइने छ ।

जनकपुर उपमहानगरपालिकामा करिब मनोज साह र उपप्रमुखमा निलम कर्णलाई टिकट दिने तयारी काँग्रेसले गरेको छ । तर जनकपुर नगरमा भने मनोज साह, बजरङ्गप्रसाद साह, किशोरी साह, श्याम साह, निर्मल चौधरी, श्याम साह, दिगम्बर राय, कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, श्रीराम साह, धीरेन्द्र मोहन झा लगायतको नाम सिफारिस गरिएको छ ।

जिल्ला सचिव कोमलकान्त झाका अनुसार क्षेत्रीय समितिलाई आइतबार १२ बजेसम्म जिल्ला कमिटीमा आकाङ्क्षीको नामावली पठाउन निर्देशन दिइएको छ । सो नामावली आएपछि जिल्ला समितिले अन्तिम टुङ्गो लगाउने र त्यहाँ पनि सहमति नभएको अवस्थामा केन्द्रीय समितिमा पठाउने निर्णय भएको छ ।

यस्तै, एमालेबाट नेता रघुवीर महासेठकी श्रीमती जुली महतोको विशेष चर्चा छ । तर उहाँको मतदाता नामावली धनुषाको मिथिला विहारी गाउँपालिकामा पर्ने हुनाले समस्या छ । एमालेबाट जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, सञ्जीव झा, प्रिती गुप्ता, राधारानी साह र प्रितीकुमार साहको नाम प्रमुख पदका लागि चर्चामा छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतोको नाम प्रमुख पदका उम्मेदवारको आकाङ्क्षीमा रहेका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका

पूर्वराष्ट्रपति डा रामवरण यादव निर्वाचित धनुषाको क्षेत्र नम्बर ५ मा पर्ने क्षिरेश्वरनाथ नगरपालिकामा काँगे्रस र एमालेको टक्कर हुने देखिन्छ । नगर प्रमुखमा काँग्रेसले क्षेत्रीय सभापति योगेन्द्र पंजियार, मोहन माथेमा, सुकदेव यादव र लालबाबु यादवमध्ये एकलाई उम्मेदवार बनाउने देखिन्छ । अहिले चर्चामा रहेकामध्ये पंजियारको सम्भावना बढी छ ।

एमालेका हरिप्रसाद पौडेल, पल्टु पण्डित र हरिनारायण यादवको नाममा छलफल चलिरहेको छ । माओवादी केन्द्रबाट वाइसिएल नेता श्याम यादव र वीरेन्द्र महतोको नाम चर्चामा छ।

मिथिला नगरपालिका

पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकाको प्रमुखमा काँग्रेसभित्र राजकुमार महतो, जोगी महतो, समीर घिमिरे शर्मा र राजाराम महतोको नाममा चर्चा चलिरहेको छ । माओवादी केन्द्रबाट पछिल्लो संविधानसभा निर्वाचनमा लडेका रामकुमार महतो र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मनीष जर्घामगरको नाम चर्चामा छ ।

एमालेभित्र पूर्वजिल्ला अध्यक्ष हरिनारायण महतो, टङ्कप्रसाद बराल र जिल्ला सचिव सोमप्रसाद शर्माले टिकट पाउन पहल गरिरहेका छन् । एमालेका आकाङ्क्षी सोमप्रसाद शर्मा पार्टीका जिल्ला उपसचिव र सामुदायिक वन उपभोक्ता समिति धनुषाका अध्यक्षसमेत रहेकाले सङ्गठनको हिसाबले राम्रो पकड भएको मानिन्छ । यता हरिनारायण महतो तत्कालीन ढल्केवर गाविसको अध्यक्ष र टङ्कप्रसाद बराल सुकुम्वासी समस्या समाधान आयोग धनुषाका अध्यक्ष भइसकेका छन् । पार्टीभित्र कसलाई टिकट दिनेबारे अन्योलको स्थिति रहेको बुझिएको छ । सबैले आ–आफ्नो पक्षकालाई आफ्नो सिफारिस गराउन भरमग्दुर प्रयास गरिरहेका छन् ।

धनुषाधाम नगरपालिका
कुनै बेला शेरे धनुषाको नामले चर्चित पूर्वमन्त्री हेमबहादुर मल्लको गृहनगर धनुषाधाममा मल्लकी बुहारी प्रेक्षा मल्लको नाम राप्रपाबाट प्रमुखका रूपमा चर्चामा छ । यद्यपि, प्रेक्षाले प्रमुख पदमा लड्ने मनस्थिति बनाई नसकेको पार्टीले बताएको छ । माओवादी केन्द्रबाट दीपक यादव, परीक्षण यादव, काँग्रेसबाट विष्णु यादव, बालेश्वर मण्डल तथा रामसत साह र एमालेबाट योगकुमार यादव, रामबाबु यादव, भगवानदत्त साह लगायतको नाम प्रमुखका दावेदारका रुपमा चर्चा आएका छन् ।

गणेशमान चारनाथ नगरपालिका

गणेशमान चारनाथमा काँग्रेसका रामसुक यादव, रामचरित्र यादव, गणेश जयसवाल, सूर्यनारायण यादव, दीपनारायण यादव लगायतको नाम प्रमुख पदमा चर्चामा छ । माओवादीबाट विष्णुदेव यादव र दुर्गा मल्ल चर्चामा छन् । एमालेका राजेश्वर मण्डल, पुरुषोत्तम लामा र सीता कार्की आकांक्षी देखिएका छन् ।

सबैला नगरपालिका

सबैलामा काँग्रेसका जिल्ला कोषाध्यक्ष हरिनारायण साह, पूर्व क्षेत्रीय सभापति श्यामनारायण यादव र नगरसभापति विजयशङ्कर साहको नाम छलफलमा आएका छन् । माओवादीबाट रोशन यादव, परशुराम साह र रामबली साहको नाम चर्चामा छ । एमालेबाट राजु गुप्ता, दुर्गा राय र हरिकिशोर यादव लगायतको नाम बाहिर आएका छन् ।

सहिदनगर नगरपालिका

पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा इतिहास रचेको यस नगरपालिकाको प्रमुख पदका लागि काँग्रेसका शत्रुधन यादव, देवेन्द्र भर्खेर, क्षेत्रीय सभापति नवीन यादव र साधु यादवको नाम विचार भइरहेको पार्टीले जनाएको छ । माओवादी केन्द्रबाट अझै खुलेर उम्मेदवार आइनसकेको जिल्ला अध्यक्ष झल्कु यादवले बताए । एमालेबाट रामचन्द्र मण्डल, सुरेशप्रसाद यादव र जयप्रकाश सुनरैत यादवको चर्चा छ ।

विदेह नगरपालिका
विदेह नगरको प्रमुखको टिकट हात पार्न काँग्रेसबाट सत्यनारायण साह, रामचन्द्र मण्डल र प्रेमचन्द्र झा लागिरहेका छन् । माओवादी केन्द्रबाट प्रमुख पदको उम्मेदवारको टुङ्गो लागिसकेको छैन । एमालेबाट राजकिशोर सिंह, रामभरोसी राउत र राजकिशोर मण्डलको नाम चर्चामा छ ।

नगराइन नगरपालिका
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर रहेको यस नगरपालिकाको प्रमुख पदमा काँग्रेसबाट क्षेत्रीय सभापति परमेश्वर यादव, श्याम यादव र निधिको नाता पर्ने श्याम निधिले दाबी गरिरहेका छन् । माओवादीबाट प्रमोद राउतको चर्चा छ । एमालेबाट श्यामसुन्दर चौधरी, वेदकुमारी मण्डल र मोहम्मद कैशको नाममा पार्टीभित्र छलफल चलिरहेको बताइन्छ ।

यस पटकको चुनावमा जनताले परिवर्तनका वाहक खोजेका छन् । उनीहरुले पुराना अनुहारभन्दा पनि नयाँ अनुहार तथा पढेलेखेका युवा खोजेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!