सिन्धुली, २९ माघ । घ्याङ्लेख गाउँपालिका–५ शान्तेश्वरीका भूकम्पपीडितले इञ्जिनीयरले काम नगर्दा आफूहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । पुनःनिर्माणमा संलग्न इञ्जिनीयरसहित प्राविधिकले यतिबेला सिन्धुलीसहित १४ भूकम्पप्रभावित जिल्लाका पुनःनिर्माणको काम ठप्प पारेका छन् ।

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–५ वडामा कार्यरत सवइञ्जिनीयर रणबहादुर रानालाई घ्याङ्लेख गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार कर्माचार्र्यले कुटपिट गरेको भन्दै उहाँमाथि कारवाहीको मागसहित सबै प्राविधिक अहिले आन्दोलनमा उत्रेका हुन् ।

माघ २४ गते वडाध्यक्ष कर्माचार्र्यले आफूलाई कुटपिट गरेको भन्दै प्राविधिक रानाले शान्तेश्वरीस्थित प्रहरीचौकीमा निविदेन दिएपछि प्राविधिक अहिले वडाध्यक्षलाई कारवाही हुनुपर्ने अडानमा छन् ।

प्राविधिकको आन्दोलनका कारण भूकम्प पीडित समस्यामा परेपछि माघ २८ गते घटनाको वास्ताविकता बुझ्न सिन्धुलीमाढीबाट पत्रकारको टोली एक घ्याङ्लेख गाउँपालिकातर्फ गएको छ ।

जनप्रतिनिधिहरू प्राविधिकले काम गरेन भन्ने र प्राविधिकहरू वडाध्यक्षले कुटपिट गरेकाले काम गर्ने वातावरण नभएको बताउँदै आएका छन् भने लभाग्राही भन्छन्, “इञ्जिनीयरले दुःख दिएकाले घर बनाइए पनि किस्ता अझै पाइएन” शान्तेश्वरी जिल्लाको विकट उक्त वडाका ४०५ भूकम्पपीडित जनप्रतिनिधि र कर्मचारीको आरोप प्रत्यारोपका कारण समस्यामा परेका छन् ।

घटनाको वास्ताविकता बुझ्न गएका पत्रकारले भूकम्पपीडितलाई विभिन्न बहानामा दुःख दिने, प्राविधिक गाउँमा नबस्नेलगायत समस्या रहेको भूकम्पपीडितले बताए ।

माघ २४ गते प्राविधिक रणबहादुर रानाले १५ भूकम्पपीडितको नामावली टाँसेपछि वडाध्यक्षसँग विवाद भएको भूकम्पपीडितको भनाइ छ । प्राविधिक रानाले घरको नमूना देखाइ सोही अनुसारको काठे घर बनाउन भूकम्पपीडितलाई नमूना दिएपछि लाभग्राहीको सूचीमा समावेश भएका १५ भूकम्पपीडितले काठको घर बनाएका थिए तर पछि उहाँले नै ती घरपास नहुने भनेपछि वडाकार्यालयमा नै प्राविधिक र लाभग्राहीबीच विवाद शुरु भएको हो प्रत्यक्षदर्शी स्थानीय कृष्णबहादुर घलानले भन्नुभयो ।

उहाँको भनाइ थियो, “भूकम्पमा परेको घर बनाइयो इञ्जिनीयरलाई घर हेरिदिन आग्रह गर्दा मान्नुभएन, फोटो खिचेर ल्याउनु भन्नुभयो, मैले फोटो ल्याएँ पहिला त्यही फोटो हुन्छ भन्नुभयो पछि तेस्रोपटकसम्म फोटो ल्याउँदा पनि घरपास भएन, एकप्रति फोटो धुलाएको रु एकसय पर्छ, फोटो खिच्दा मात्रै रु तीन हजार सकियो इञ्जिनीयरले घर पनि हेर्न नमानेपछि वडाध्यक्षले हामी जनप्रतिनिधि हौँ तपाईंले जनतालाई दुःख दिन पाउनुहुन्न समस्या के हो सल्टाउनुस् भनेपछि इञ्जिनीयर आफै वडाध्यक्षलाई तह लगाउने भनेर यहाँबाट हिँड्नुभयो र रामपुर बजारमा गएर वडाध्यक्षले आफूलाई कुट्यो भन्नुभएछ यो झुट हो तर इञ्जिनीयरले हामीलाई दुःख दिएको छ, कति दिन दुःख पाउने तपाईहरुले नै न्याय दिनुपर्यो ।”

“काठको घर बनाएर घरपास नहुने भन्ने सूची टाँसेपछि विवाद शुरु भएको हो”, अर्का पीडित कमल कर्माचार्र्यले भन्नुभयो, “वडाध्यक्षले प्राविधिकलाई काम गर्न भनेपछि विवाद शुरु भयो, प्राविधिकले एउटा कागज ल्याएर यसमा सही गर्नु भन्नुभयो तर वडाध्यक्षले म गर्दिन भनेपछि उहाँ कार्यालयबाट हिँड्नुभयो, म पनि काठको घरको फर्म भर्न आएको थिएँ अहिलेसम्म घर बनाउन त परै भयो फारम नै भर्न पाइएको छैन, जनतालाई दुःख दिने, काम नगरिदिने, आन्दोलन मात्र गर्ने हो भने हामी पनि आन्दोलन गर्छौं ।”

राजकुमार भोलन, हीरालाल श्रेष्ठ, रुपबहादुर विश्वकर्मा, धनबहादुर वल, सेतीमाया विश्वकर्मालगायत धेरै भूकम्पपीडितले प्राविधिकले काम नगरिदिँदा आफूहरु झन पीडित भएकोे बताए ।

वडाध्यक्ष कर्माचार्यले आफूले प्राविधिकलाई नकुटेको तर जनतालाई विभिन्न बहानामा दुःख नदिन जनताकै सामु भनेपछि उहाँ र मेरो सामान्य विवाद भएको बताउनुभयो ।जनताको काम अड्काएर दुःख नदिन आग्रह गर्दै भौगोलिक विकटताका कारण दिननै मायामारेर आएका भूकम्पपीडित छन्, के गर्दा सहज हुन्छ गर्नुस् भनेको थिएँ त्यतिकैमा उहाँले एउटा कागज ल्याउनुभयो र भन्नुभयो, “मेरो यसमा सही गरिदिनुस् ”। हेर्दा त्यो हाजिरी प्रमाणित रहेछ, त्यही पनि खाली थियो तपाईले काम नगरेको दिनको म हाजिरी प्रमाणित गर्न सक्दिन, एकै दिन पुस, माघ, फागुन, चैतसम्मको हाजिर प्रमाणित गर्न मैले मिल्दैन भनेपछि उहाँले मलाई र शान्तेश्वरी हल्लाइदिन्छु भनेर हिँड्नुभयो उहाँले भन्नुभयो ।

आन्दोलनमा उत्रेका प्राविधिकले आज पनि निकास ननिक्लिए ३१ जिल्लाकै काम ठप्प पारेर आन्दोलन गर्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!