काठमाडौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ ।

यद्यपि, राजपा नेपालले भने सत्ता पक्षले आफ्ना राजनीतिक माग पूरा नगरेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने जनाएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई प्राविधिक रुपमा निर्वाचनमा भाग लिने सहज वातावरण बनाउन केही कानुन संशोधन गर्ने सहमति भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संविधान संशोधन, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि र तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभए निर्वाचनमा जान नसकिने बताउनुभयो । राजपा नेपालले आजै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी पनि नेता झाले दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर देउवा, नेकाका वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, राजपा नेपालका नेता महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!