काठमाडौँ, २६ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो ।

Advertisement

‘हामीले खेलाडीहरुसँग सम्झौता गरेर पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने, ‘खेलाडीहरु धनगढीबाट फर्किएपछि तलब बाँड्छौं ।’

सन् २०१७/१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आईसीसीमा पत्र पठाएको थियो ।

ए श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । उनीहरुको तलब मासिक ३५ हजार तोकिएको छ ।
दुई वर्षको तलब एक मुष्ट लिँदा उनीहरुले ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् ।

श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुको तलब मासिक २५ हजार छ । २ वर्षको तलब एकमुष्ठ पाउँदा ६ लाख हुन्छ ।

यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले २ वर्षको तलब बराबर ३ लाख रुपैयाँ पाउनेछन् ।

टिम म्यानेजर रमन शिवाकोटी र प्रशिक्षक जगत टमाटाले पनि २ वर्षको पारिश्रमिक पाउनेछन् । राखेपका प्रशिक्षक भएका कारण टमाटालाई मासिक १५ हजारका दरले ३ लाख रुपैयाँ मात्र आएको स्रोतको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!