दार्चुला, २५ माघ । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो ।

Advertisement

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो ।

डडेल्धुराबाट दार्चुलाको बालशिखर रिपीटरटावर भएर जिल्लाभरिको सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरि सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो ।

मालिकार्जुन–२ स्थित बालशिखर टावरमा जिल्लाको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर बुधबारदेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्, गुरुङले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन विस्तारमा लापरवाही गरेपछि जिल्ला सञ्चारविहीन भएको हो ।

हालसम्म जिल्लामा आधा दर्जन टेलिकम टावरमा मात्रै विद्युतीकरण पुगेको छ । त्योबाहेकका सबै टावर घामको भरमा सञ्चालनमा छन् ।
अझै केही दिन घाम नलाग्ने हो भने टेलिफोन सेवा अवरुद्ध हुनसक्छ उहाँले भन्नुभयो । घामको विकल्प केही नभएपछि सञ्चार अवरुद्ध रहेको हो ।

नौगाड, व्यास, अपीलगायतमा रहेका स्काई टावरले दुई सातादेखि काम गर्न छाडेको स्थानीय रघुवीरसिंह ठगुन्नाले बताउनुभयो ।
बिहानदेखि टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । “इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन ।

जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!