फिक्कल, २५ माघ । जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो ।

Advertisement

सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । सङ्घीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरुले यो कर उठाउन थालेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।

यस नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदुषण नियन्त्रण कर भनेर लिँदै आएको थियो । अब फागुन १ गतेबाट सो कर नलिने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताउनुभयो ।

त्यस्तै नगर कार्यपालिकाको बैठकले घरबहाल कर बढाउने निर्णय गरेको छ । हालसम्म इलाम नगरपालिकाले घरबहाल कर भनेर सात प्रतिशत लिँदै आएको थियो । अब आउँदो आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागिएको प्रमुख बस्नेतको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!