चितवन, २४ माघ । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहनुभएको छ ।
राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चोट रहेको छ ।
यस्तै नारायणगढबाट काठमाडौँ जाँदै गरेको माइक्रोबसमा ढुङ्गा लाग्दा एक घाइते भएका छन् । प्रहरीका अनुसार बा३ख १७७३ नंको माइक्रोबसमा इच्छाकामना गाउँपालिका–६ जलबिरेमा माथिबाट खसेको ढुङ्गा लागी कालिका नगरपालिका–६ बस्ने ६० वर्षीय विर्जलाल मर्दनीया घाइते हुनुभएको हो । घाइते मर्दनीयाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मर्दनीयाको टाउको र गालामा चोट लागेको प्रहरीले जनाएको छ ।