काठमाडौँ २२ माघ । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । पौडेलले भोलि माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेको रातोपाटीसँगको कुराकानीमा बताइन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा भोलि माघ २३ गतेदेखि लागु हुने समेत जानकारी गराएकी छन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ,’ उनले फेसबुकमा लेखेकी छन् ।
पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।
गत आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएको स्रोत बताउँछ ।
केही दिनअघि मात्र निकिताले सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेसँग अदालती प्रक्रियाबाट वैवाहिक सम्बन्ध गाँसेकी थिइन् ।