काठमाडौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ ।

Advertisement

आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।”

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मानक तयार पारेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन हुँदैन कि वा मुलुक अगाडि बढ्दैन कि भन्ने आशङ्का र चुनौतीकाबीचबाट आफ्नो नेतृत्वको सरकारले सहजै रुपमा मुलुकलाई नयाँ दिशामा अगाडि बढाइएको बताउँदै “अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकी मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ भन्नुभयो ।”

देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उहाँले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले मधेस, पहाड र हिमाललाई जुटाउने सन्दर्भमा पनि नयाँ आधार तयार भएको बताउँदै सहिद, घाइते, बेपत्ता तथा आमजनताको त्याग र बलिदान खेर नजाने अवस्थामा आइपुगेको छ भन्नुभयो ।

आफ्नो पार्टी मुलुकको एउटा केन्द्र बन्दैछ भन्ने अवस्था देखिएको र माओवादी आन्दोलन एकीकृत बन्ने, पुनः सङ्गठित हुने अवस्था तयार रहेको बताउँदै उहाँले नेकपा(एमाले) अवसरवादीको पर्याय भएको र सो पार्टीभित्र रहेका इमान्दार नेता तथा कार्यकर्तालाई पनि माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने र त्यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिसहित मुलुकलाई नयाँ स्थानमा पु¥याउने छ भन्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका तीन दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले रातो टीका लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, प्रवक्ता पम्फा भुसाललगायतको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!