मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

Advertisement

सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ ।

चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा पाँच जना शिक्षकले पढाइरहेका छन् ।

कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । “नगरपालिकाले महिलाका लागि छुट्याएको बजेटबाट नै तयारी कक्षा सञ्चालन गरेका हौँ,” उपप्रमुख पराजुलीले भन्नुभयो, “यसले महिलाको व्यक्तित्व विकास र भविष्य निर्माणमा गुणात्मक परिणाम दिने अपेक्षा गरेका छौँ ।”

यस्ता कार्यक्रमले महिलालाई पुरुषसँग खुल्ला प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याउने उहाँले बताउनुभयो । “हामी लोकसेवाको तयारी कक्षा पढ्न काठमाडौँ नै जानुपर्ने बाध्यता थियो, नगरपालिकाले एकदमै राम्रो कार्यक्रम ल्याएको छ,” तयारी कक्षा पढिरहेकी रस्मिता नेपालीले भन्नुभयो, “हामी अत्यन्तै उत्साहित छौँ, यो कक्षाले लोकसेवामा नाम निस्कन्छ भन्नेमा पनि आशावादी छौँ ।”

कक्षामा सहभागी अर्का विद्यार्थी अस्मिता अधिकारीले नगरपालिकाले दीर्घकालीन सोच राखेर कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै भन्नुभयो, “तयारी कक्षाले हामीलाई आशावादी र उत्साहित बनाएको छ ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!