सोलुखुम्बु, ३ माघ । जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो ।

छयालीस घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको वन उपभोक्ता समितिका उपाअध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । “पछिल्लो समय वनजङ्गल मासिँदै गएको छ,” उपाध्यक्ष शेर्पाले भन्नुभयो, “वनजङ्गल जोगाउने उपायमध्ये ग्यास नै हो भनेर वितरण गरेका हौँ ।”

उपभोक्ता समितिको आन्तरिक स्रोतमार्फत ४६ घरधुरीलाई रु एक लाख ५५ हजार बराबरको ग्याससहितको सिलिण्डर प्रदान गरिएको उपाअध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार पहिलो दिन ४० जनालाई वितरण गरिएको छ भने बाँकी ६ जनालाई चाँडै वितरण गरिनेछ । वडालाई धुवाँमुक्त बनाउन र वनजङ्गल जोगाउन सामुदायिक वन कार्यालयले यस्तो काम गरेको उहाँको भनाइ छ ।

सोलुदूधकुण्डका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले वन जोगाउन र प्रदूषण नियन्त्रणमा यस्ता कार्यले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

ग्यास सिलिण्डर प्राप्त गरेपछि स्थानीयवासी हर्षित भएका छन् । दाउराको खपत कम गर्नका लागि सामुदायिक वनले लिएको नीति अरूले पनि सिक्न आवश्यक रहेको उपभोक्ता ग्याल्जेन शेर्पाले बताउँनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!